काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा ‘ब्याड बैंक’ स्थापना गर्ने घोषणा गरेको छ। बैंकहरुको खराब कर्जा व्यवस्थापनका लागि सरकारले ब्याड बैंक स्थापना गर्ने घोषणा गरेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२-२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो जनाएका हुन् ।
यसो त यसको चर्चा यसअघि पनि हुने गरेको थियो । तर यो काम अगाडी बढेको थिएन ।
ब्याड बैंक भनेको एउटा वित्तीय संस्था हो जुन कमजोर वित्तीय अवस्थामा रहेका बैंकहरूले आफ्नो नाफा नदिने वा डुबेको ऋण हटाउनका लागि निर्माण गरिन्छ । यसले खासगरी कमजोर कर्जालाई व्यवस्थापन र वसूली गर्न मद्दत गर्छ।ब्याड बैंकले कमजोर कर्जाहरूलाई बैंकको “ब्यालेन्स शीट” बाट अलग गरी, तिनीहरूलाई नयाँ व्यवस्थापन इकाइमा सार्छ। यसले मूल बैंकको वित्तीय स्थिति सुधार्न सहयोग पुर्याउँछ, किनकि कमजोर ऋणको भार घटेपछि त्यसले नयाँ ऋण दिन र कारोबार विस्तार गर्न सजिलो हुन्छ ।