काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर रायलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरेको छ।
६५ वर्षीय रायमाथि बैंकमा संकलित बचतकर्ताहरूको २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको छ।
राय २०६० सालमा स्थापना भएको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष हुन् र २०७६ देखि २०७९ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। बैंकमा आर्थिक हिनामिनाको आरोप लागेपछि उनी फरार भएका थिए।बैंकमा भएको अपचलनको अनुसन्धान प्रक्रिया अघि बढेपछि राय फरार भएका थिए। बैंकको आन्तरिक छानबिनबाट रकम अपचलनमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह समेत संलग्न रहेको खुलेको थियो।
हाल कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा छ। बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेपछि राष्ट्र बैंकले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको हो।