काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षको अवसरमा शुभकामना दिएका छन् । बुधबार छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षको अवसरमा शुभकामना सन्देश दिदैँ प्रचण्डले सामाजिक विभेद अन्त्य आफ्नो पार्टीको नेतृत्वमा भएको दशवर्षे जनयुद्धको ऐतिहासिक पहल भएको बताएका हुन् ।
‘वंशीय विभाजनमा आधारित सामन्ती राज्य व्यवस्थाले छुवाछूत, विभेद र उत्पीडनलाई संस्थागत रूपमा संरक्षण गर्दै आएको यथार्थ विरुद्ध बृहत् शान्ति सम्झौता पश्चात वि.सं.२०६३ साल जेठ २१ गते पुनस्थापीत संसद्बाट नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो । यो घोषणा साढे तीन हजार वर्षदेखि दलित समुदायमाथि भइरहेका सामाजिक विभेद अन्त्य गर्न गरिएको ऐतिहासिक पहल थियो ।
हाम्रो पार्टीको नेतृत्वमा सञ्चालन भएको दशवर्षे जनयुद्ध र २०६२/६३ को जनआन्दोलनको जगमा निर्माण भएको नेपालको संविधानले दलित समुदायका हक,अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ,’ प्रचण्डले सन्देशमा लेखेका छन् ।
उनले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार सहभागिता, सार्वजनिक क्षेत्रमा सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता संविधानमा उल्लेख हुनु ऐतिहासिक उपलब्धि रहेको बताए ।