Skip to content

संघीयताबाट पछाडी फर्कने विषयले मुलुकलाई अन्धकार तर्फ लैजान्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीयताबाट पछाडी फर्कने विषयले मुलुकलाई अन्धकार तर्फ लैजाने बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गणतन्त्र, संघीयता र समावेशिताबाट पछाडी फर्कने विषयले मुलुकलाई फेरि अन्धकार तिर लैजाने बताउँदै मन्त्री लेखकले केही राजावादी संस्थाहरुले गरिरहेको कुराको पछाडी नलाग्न आग्रह गरेका छन् ।
साथै, उनले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ आवश्यक परिमार्जन गरि छिटो भन्दा छिटो समितिबाट पारित गर्नुपर्ने बताएका छन् । धेरै बालबालिकाहरुलाई पीडादायी अवस्थामा देखेको हुनाले विधेयक ल्याएको भन्दै यसलाई छिटो भन्दा छिटो समितिबाट पारित गर्न उनले आग्रह गरेका छन् ।

उनले भने, ‘मेरो आग्रह के छ भने यसलाई छिटोभन्दा छिटो कस्तो बनाउने के बनाउने त्यो समितिले गर्ने काम हो । त्यसमा सरकारले आफ्नो विचार राख्ला, त्यो हामी राख्छौ नै यो विधेयक हामीले धेरै अध्ययन गरेर लिएर आएको हो । यो मन्त्रालयमा प्रवेश गरेपछि यो विषयलाई उच्च प्राथमितामा किन राखेको भने केही बालबालिकाहरुलाई मैले यस्तो पीडादायी अवस्थामा देखेको छु त्यसलाई सम्बोधन गर्नको लागि ६, ७ महिना अध्ययन गरि सकेपछि विधेयक ल्याएको हो । त्यसकारण यसमा थप परिमार्जन आवश्यकता छ भने त्यो गरेर छिटो भन्दा छिटो समितिबाट पारित गरौं ।’

यस्तै, उनले प्रत्येक देशको नागरिकता प्रकाश गर्ने विषय भूगोल, जनसांख्कि अवस्था, राजनीति सबै कुराले निर्धारण गर्ने भन्दै नागरिकताको विषयलाई गम्भिर र संवेदनशिल भएर हेरेको बताए । उनले भने, ‘अर्को कुरा अहिले पूर्व राजावादी केही संघसंस्थाहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल र संस्थाहरुले गरिरहेको घटनाहरुको बारेमा प्रश्न उठेको छ मेरो आग्रह के हो भने हामी संघीय लोकतान्त्रि गणतन्त्रको व्यवस्थामा छाैं ।

यो संविधानमा हाम्रा पूर्वजहरुले धेरै बलिदान, योगदान दिएर नै हामी आज यो ठाँउमा पुगेका छौं । गणतन्त्र, संघीयता, समावेशिताबाट पछाडी फर्कने विषयले मुलुकलाई फेरि अन्धकार तिर लैजान्छ । यसमा हामी सबै प्रष्ट हुन जरुरी छ । संविधानलाई फाल्ने काममा हामी कोही पनि नलागौ सरकारको धारणा यही हो । संविधान र गणतन्त्र फाल्न मिल्दैन र हुँदैन् ।’

arrow प्रतिक्रिया दिनुहोस्