काठमाडौँ । खाद्यान्न चक्र र खाद्य स्वच्छताका विषयमा समाचार लेख्दा तथ्य र विज्ञानलाई आधार बनाउन अधिकारीहरुले आमसञ्चारकर्मीहरुसँग आग्रह गरेका छन् । बुधबार राजधानीमा काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रुपमा आमसञ्चारकर्मीहरुका लागि आयोजना गरेको ‘खाद्य स्वच्छता तथा गुणस्तर शिक्षा सम्बन्धी सचेतना कार्यक्रममा’ उहाँहरुले यस्तो आग्रह गरेका हुन् ।
‘मानव जीवनको आधार नै खाद्यान्न भएकोले गुणस्तरीय खाद्यान्न प्राप्त गर्ने गराउने प्रणालीमा आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका छ । भूमिका निर्वाह गर्ने क्रममा तथ्य र विज्ञानमा ख्याल गर्न सकिएन भने खाद्य वस्तुमाथि नै नकारात्मक दृष्टिकोण पैदा हुने भएकोले यस्तो बेला तथ्य र विज्ञानमा टेकेर तोकेर नै गल्ती उजागर गर्नुपर्छ । यसले गर्दा समस्या देखिएको बस्तुप्रति उपभोक्ता सचेत रहन्छन् । त्यो जातका अरु उत्पादन प्रयोग गर्न हिच्किचाउँदैनन् । वास्तवमा कुनै एउटा जातको कुनै सामानमा खराव देखिनु त्यो जातको सबै उत्पादन खराब हुनुहोइन ।’ उनले भने समाचार प्रकाशन वा प्रसारण गर्नु अघि तथ्य पुष्टि गर्न, प्रदुषक, रोगजन्य विषयको विज्ञान बुझ्न, जोखिम र हानीका विषयमा स्पष्ट हुन सुझाव दिँदै महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामाले, विज्ञहरुसँग परामर्श गरेर, तटस्थ भाषाको प्रयोग गरेर, निवारणका उपाय प्रदान गरेर, प्रचलित विधि र व्यवस्था जानकारी दिएर आमसञ्चारकर्मीले उच्चस्तरीय भूमिका निर्वाह गर्न सक्ने धारणा राखे ।
उनले भने,‘सञ्चारमाध्यमको दृष्टिमा खाद्य स्वच्छता सम्बन्धी प्रस्तुतिकरणमा प्रकाशित तथा प्रसारित सामग्री उधृत गर्दै उहाँले भन्नुभयो, ‘सुरक्षित छैन भने खाना, खाना हुँदैन । खानालाई सुरक्षित बनाउन वातावरणीय अवस्थादेखि उत्पादन र खाद्य आचरणको सृङ्खलामा सबैले दायित्व पूरा गर्नुपर्छ ।’ त्यस अवसरमा खाद्य स्वच्छता कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले, खाद्य स्वच्छताका लागि अझै पनि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । ‘यो चक्रमा जसले जुन ठाउँमा बसेर काम गरिरहनुभएको छ । उहाँहरु सबैको दायित्व समान रहन्छ । यसका लागि महानगरपालिकाले सचेतनात्मक, प्रवर्धनात्मक र क्षमता विकास कार्यक्रम सञ्चालन गरिरहेको छ ।’
यही विषय जोड्दै महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले भने,‘पेशा व्यवसाय जसको जे भए पनि सबैको अभिलाषा स्वच्छ खाद्य बस्तु प्राप्त गर्नु नै हो । यो अवसर हरेक उपभोक्तालाई प्रदान गर्नुपर्छ । यसकारण खाद्य स्वच्छता कायम गराउन कोही एक पक्ष वा कोही अर्को पक्ष भएर भन्दा पनि सबैले समान दृष्टि राखेर काम गर्नुपर्छ ।’‘अस्वस्थ्यकर खाद्य पदार्थका कारण २ सयभन्दा धेरै रोग लाग्छन् । हरेक वर्ष ६० करोडभन्दा धेरै मानिसमा खाद्यजनित रोग लाग्ने गरेको छ । हरेक वर्ष ४ लाख २० हजार मानिस खाद्यजनित रोगका कारण मृत्युवरण गर्छन् ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले विश्व स्वास्थ्य संगठनको तथ्याङ्क उधृत गर्दै भने, ‘भौतिक, रसायनिक र जैविक गरी ३ कारणले खाद्य बस्तु अस्वस्थ्यकर हुन्छ । ढुङ्गा, माटो, काठ, फलाम, कपाल, प्वाँख जस्ता भौतिक वस्तु खाद्यबस्तुमा मिसिएर खाना अस्वस्थ्यकर हुन सक्छ । यस्तो अवस्था आँखाले देख्न सकिने भएकोले मानिसले प्रयोग गर्दैन । जीवनाशक विषादीको अवशेष, एन्टिवायोटिकको अवशेष, तोकिएभन्दा धेरै खाद्य योगशीलको प्रयोगजस्ता रसायनिक समस्या आँखाले देख्न सकिँदैन । यसकारण प्रयोग गरिन्छ । सबैभन्दा बढी असर यसैबाट हुन्छ । जैविक जोखिम भनेको हानीकारक जीवाणु कीरा, ढुसी, पारासाइट, विषाणुको असर हो । कहिलेकाहीँ यस्तो देखेर पनि मानिसहरुले खानेकुरा प्रयोग गर्छन् । जसकारण समस्यामा पर्छन् ।’
नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघका अध्यक्ष होमनाथ न्यौपानेले खाद्य स्वच्छताका विषयमा कुरा गर्दै भन्नुभयो, खानेकुरा स्वच्छ छ कि छैन भनेर बोल्ने व्यक्ति मेडिकल डाक्टर हो कि खाद्य प्राविधिक हो, अब छलफल गर्नु पर्ने बेला भएको छ । खाना कस्तो हो भनेर जसले पनि बोल्ने भएपछि कतिपय खाद्य परिकार त्यसको शिकार भएको उनको भनाइ छ ।महानगरपालिकाले ‘स्वच्छ भान्छा’ स्वर्णिम योजनाअन्तर्गत खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि चरणगत काम गरिहेको छ । यस वर्ष खाद्य स्वच्छता ः प्रवर्धन शिविर (फुड सेफ्टी वुट क्याम्प) कार्यक्रमअन्तर्गत खाद्य सेवामा क्षेत्रगत व्यावसायी तथा व्यक्तिहरुलाई सेवाको प्रकृतिका आधारमा वर्गीकरण गरेर समूहगत तालिम प्रदान गरेको छ । यसमा साना तथा मध्यम भोजनालय सञ्चालक, व्यवस्थापक तथा भान्छामा काम गर्ने कर्मचारी, मासुजन्य खाद्य बस्तुको उत्पादक, मिठाइका उत्पादक तथा विक्री वितरक, परम्परागत खाद्य सेवा प्रदायक लगायत वर्गलाई स्वच्छता र सरसफाइ सम्बन्धी तालिम प्रदान गरेको हो ।
खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि यसै वर्षदेखि घुम्ती प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।खाद्य सेवाको गुणस्तर प्रमाणीकरण गर्न सेवाको मूल्याङ्कन गर्ने प्रणाली विकास गर्ने महानगरपालिकाको योजना छ । यसले खाद्य स्वच्छताको पारदर्शिता र सुरक्षाको निश्चित गर्छ । व्यवसायीलाई जवाफदेही बनाउँछ । व्यवसायीलाई स्वच्छता मापदण्डहरूको बारेमा जानकारी प्रदान गर्छ । यसले उपभोक्ताहरूलाई खाना कहाँ किन्ने? खाना कुन स्तरको छ? भन्ने निर्णय गर्ने आधार उपलब्ध गराउँछ । यसो हुनु स्वच्छ व्यापारिक प्रतिस्पर्धाका दृष्टिले उपयुक्त हुन्छ । यस्तै दोस्रो अथवा तेस्रो स्तरमा भएका व्यावसायीले पहिलो हुन सुधारका अवसर प्रदान गर्छ । उपभोक्ताहरुलाई ह्यान्डलिङ्, भण्डारण, तयारी, सरसफाई, खाद्य सुरक्षाजस्ता खाद्य सेवा र व्यवस्थापनका बारेमा जानकारी राख्न मद्दत पु¥याउँछ । खानाको गुणस्तर, ग्राहक सेवा, खाना व्यवसायको स्तरप्रति उत्तरदायी बनाउँछ ।व्यावसायिक खाद्य सेवामा यो प्रणाली कार्यान्वयनमा आएपछि व्यक्तिको आचरणमा सुधार आएर यसले व्यक्तिव्यक्ति परिवार परिवारमा सजगता प्रदान गर्ने अपेक्षा राखिएको छ ।