Skip to content
nabil bank inside

सांसद गौतमको संसदमा प्रष्टोक्ति : ‘मैले प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेको होइन’

nmb bank inside

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्पेनको कार्यक्रममा सहभागी भएर केही मानिस नफर्किएको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रमको बहानामा गएर नफर्किएका र उतै बसिरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो । तर यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रममा बहानामा गएर फर्किएका छैनन् र उतै बसेका छन् । प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रम निकै ठूलो कार्यक्रम हो । १०औं हजार मानिसहरु सहभागी हुने कार्यक्रम हो । नेपालबाट सयौं मानिसहरु सहभागी हुन गएको पनि साँचो हो । केही नफर्किएको पनि साँचो हो । फेक डकुमेन्ट बनाएर भिसा लगाएको पनि साँचो हो ।’

साथै उनले भिजिट भिसाको दुरुपयोग गरी भइरहेको मानव तस्करी रोक्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सरकारलाई कडा आलोचना गरेकी छन् । उनले यस्तो गम्भीर विषयमा सरकारले लापरवाहीपूर्ण रवैया अपनाएको आरोप लगाइन् । ‘सरकारले नागरिक बेचबिखनजस्तो गम्भीर विषयमा स्वार्थ बाझिने र अनुपयुक्त पात्रको नेतृत्वमा सामान्य टालटुल प्रशासनिक समिति बनाएको छ,’ सांसद गौतमले भनिन् ‘त्यसकै विरोधमा रास्वपाले संसदमा निरन्तर बहिष्कार गरिरहेको हो ।’

उनले संसदमा उठाएको विषय हटाउन माग आएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको सचिवालयबाट चुनौति आएको भन्दै जवाफसमेत दिइन् । ‘रास्वपा जिम्मेवार पार्टी हो। म पनि जिम्मेवार सांसद हुँ,’ उनले भनिन् ‘मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन । राम्रोसँग कान खोलेर सुन्नुहोस्, मैले भनेको वाक्य पुनः दोहोर्याउँछु – स्वयम सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रमको बहानामा गएका र नफर्किएको भन्ने समाचारहरू आइरहेका छन् ।’

सांसद गौतमले आफ्नो भनाइलाई गलत रूपमा अथ्र्याइएको भन्दै आक्रोश व्यक्त गरिन् । उनले भनिन्, ‘प्रधानमन्त्री गएको कार्यक्रममा कोही गएर फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै फरक छ । सांसद महोदयहरूलाई नेपाली भाषा बुझ्न समस्या भएका कारण मेरा भनाइहरू हटाउनुपर्छ भन्ने त भएन नि ।’उनले आफूले भनेको विषयप्रति कुनै भ्रम छैन भन्दै चुनौती दिनेहरूप्रति संकेत गर्दै थपिन्, ‘जसलाई समस्या छ, उसैको उपचार गरियोस्। मैले भनेको कुरा स्पष्ट छ र त्यसमा म अडिग छु ।’

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्