काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनता र देशमाथि घात प्रतिघात गर्नेहरुमाथि हदैसम्मको कारबाही गर्न माग गरेका छन् । घुस अडियो प्रकरणमा मुछिएपछि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएकोे सन्दर्भ जोड्दै यस्ता घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन् ।
उनले भने, ‘सकेसम्म यस्ता घटनाहरुलाई लुकाउने, बाहिर आएपनि गल्ती र अपराध अस्विकार गर्ने र एकाद घटनाहरुमा कारबाही भए गरिए प्रतिशोध भयो भन्ने गरिन्छ ।’ केही घटनाहरु उल्लेख गर्दै उनी भन्छन्, ‘करोडौं रकम धरौटी बुझाउने रवि लामिछानेमाथि सत्तारुढ दलको प्रतिशोध । ३५ लाख रकम धरौटी बुझाएका माधव नेपालमाथि एमालेको प्रतिशोध । २५ लाख रकम धरौटी बुझाएका कांग्रेसका पूर्वमन्त्री मोहन बस्नेतमाथि पार्टीबाटै प्रतिशोध । अनि एमालेका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता चाहीँ एआइको शिकार !’
यिनीहरुले राज्यलाई बुझाएको धरौटी रकम र आफ्नो पदबाट दिएको राजिनामा नै यिनीहरु माथि थप छानबिन गरी कारबाही गर्नुपर्छ भन्ने प्रमाण भएको जिकिर गरे ।यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरुले सजाय स्विकार गर्ने तर आफूले गरेको गल्ती र अपराध स्विकार नगर्ने गरेको उनको भनाइ छ ।