काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मिति तय नहुँदै महामन्त्री पदका लागि पहिलो उम्मेदवारी घोषणा गरेका केन्द्रीय सदस्य नैनसिंह महरको ‘विधि र मुद्दा केन्द्रित’ अभियानले पार्टीको आन्तरिक राजनीतिमा गति लिन थालेको छ । परम्परागत गुटगत समीकरणभन्दा बाहिर रहेर ‘मध्यमार्गी’ धार बनाउने उनको रणनीतिले तल्लो तहका कार्यकर्ता र विभिन्न गुटमा रहेका परिवर्तन पक्षधर नेताहरूलाई आकर्षित गर्न थालेपछि संस्थापन र संस्थापनइतर दुवै खेमामा नयाँ तरंग सिर्जना भएको छ ।
नेपाली कांग्रेसभित्र हरेक चुनावमा निर्वाचित भएका महर यसपटक महामन्त्री पदका निम्ति सबैभन्दा बलिया उम्मेदवारका रुपमा उदाएका छन् । संस्थापन पक्ष सभापति शेरबहादुर देउवाको निरन्तरता र इतर पक्ष नयाँ नेतृत्वको खोजीमा आन्तरिक शक्ति संघर्षमा अल्झिरहेको बेला महरले ‘पहलकदमीको लाभ’ (First-mover advantage) लिएका छन् । उनले आफ्नो उम्मेदवारीलाई ‘विधानसम्मत र समयमै महाधिवेशन’ को मागसँग जोडेका छन्। यसले नेतृत्वलाई नैतिक दबाब दिनुका साथै विधि र प्रक्रियाको पक्षमा उभिने नेताको छवि निर्माणमा सघाएको छ ।
‘अहिले पार्टीमा संस्थापन र इतर दुवै गुटभित्र एक खालको असन्तुष्टि र नयाँ विकल्पको खोजी भइरहेको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘नैनसिंहजीको अभियानले गुटको समीकरणभन्दा माथि उठेर मुद्दामा विश्वास गर्ने तर निर्णायक भूमिकामा नरहेका ठूलो पंक्तिलाई आशा जगाएको छ । उहाँको रणनीतिले काम गरिरहेको देखिन्छ ।’ तीन वर्षदेखिको तयारी, ७४ जिल्ला भ्रमण र ‘मिसन महामन्त्री’ अभियानमार्फत व्यवस्थित प्रचारमा जुटेका महरको सक्रियताले अन्य आकांक्षीहरूलाई समेत छिटो मैदानमा उत्रिन दबाब दिएको छ । उनी कांग्रेसको बलियो संगठन मानिने नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष र हाल पार्टीको शिक्षा विभाग प्रमुखको जिम्मेवारीमा छन् । उनको नेतृत्वमा सञ्चालित ‘स्कूल अफ डेमोक्रेसी’ जस्ता कार्यक्रमले उनलाई वैचारिक र सांगठनिक रूपमा पार्टीको तल्लो तहसम्म पुग्न मद्दत गरेको विश्लेषण गरिएको छ । महरले अघि सारेको १४-बुँदे एजेन्डामा ‘एक व्यक्ति, एक पद, दुई कार्यकाल’, आर्थिक पारदर्शिता र विज्ञ समूह (थिङ्क ट्याङ्क) को स्थापनाजस्ता विषयले युवा र बौद्धिक वृत्तमा विशेष चर्चा पाएको छ ।
‘हाम्रो तहमा गुटभन्दा पनि पार्टी कसरी बलियो हुन्छ भन्ने चासो छ,’ एक जाना अर्का केन्द्रीय सदस्य भने, ‘उहाँले उठाएका एजेन्डाले पार्टी रूपान्तरणको स्पष्ट खाका दिन्छ । त्यसैले उहाँप्रति स्वाभाविक आकर्षण बढेको हो ।’ १४ औं महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्माको उदयले कांग्रेसमा परम्परागत गुटको विरासत तोड्न सकिन्छ भन्ने सन्देश दिएको थियो । त्यही जगमा टेकेर महरले आफ्नो अभियानलाई ‘मुद्दा र विचारमा आधारित नयाँ ध्रुवीकरण’ को रूपमा अघि बढाएका छन् । उनको बढ्दो सक्रियता र पक्षमा बन्दै गएको माहोलले कांग्रेस महामन्त्रीको आगामी प्रतिस्पर्धालाई थप जटिल, रोचक र बहुध्रुवीय बनाउने संकेत गरेको छ ।