काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्या भण्डारीले पार्टीमा आफ्नो सदस्यता नवीकरणसम्बन्धी विवादप्रति गम्भीर असन्तुष्टि प्रकट गरेकी छन्। उनले मिति २०८२/४/८ मा सार्वजनिक प्रेस विज्ञप्ति र विचार अभिव्यक्तिको माध्यमबाट स्पष्ट रूपमा भनिन्, ‘मैले विधिपूर्वक सदस्यता नवीकरण गरें, तर पार्टी नेतृत्वले त्यसलाई बेवास्ता गर्यो।’ विद्या भण्डारीका अनुसार, पार्टी सदस्यता नवीकरणको विषयले अनावश्यक विवाद सिर्जना गरिएको छ।
‘यो विषय जानिएर झुटो हल्ला फैलाइएको हो,’ उनले भनिन्। जननेता मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा आफू सदस्य नभएको भनेर नाम सार्वजनिक नगरेको विषयप्रति उनले आपत्ति जनाएकी हुन्। पार्टीभित्र गम्भीर सैद्धान्तिक असहमति प्रेस विज्ञप्तिमा भण्डारीले लेखेकी छन्, “एमालेले पछिल्लो समय सैद्धान्तिक विचलन, कार्यशैलीमा अपारदर्शिता, नेतृत्व केन्द्रित सोच र मूल्य–मान्यता भन्दा पदको मोहलाई प्राथमिकता दिइरहेको देखिन्छ। यो प्रवृत्तिविरुद्ध म आलोचकको रूपमा उभिन बाध्य भएको हुँ।’
उनले पार्टीमा गहिरो आत्मसमीक्षा, वैज्ञानिक मूल्य–मान्यताको अवलम्बन, लोकतान्त्रिक संवाद र व्यापक सहभागी आधारमा पुनर्निर्माणको खाँचो रहेको बताइन्। राष्ट्रपतिबाट नागरिक भूमिकामा फर्कंदै विद्या भण्डारीले आफू राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर नागरिक भूमिकामा फर्किएको र आगामी दिनमा राजनीति वा सामाजिक यात्रालाई लिएर गम्भीर तयारीमा रहेको संकेत दिएकी छन्।
उनले भनिन्, ‘म राजनीति गर्न राष्ट्रपतिबाट बाहिरिएको होइन, जनताको सेवा र मार्गदर्शनका लागि सक्रिय भूमिका निर्वाह गर्न चाहन्छु।’ उनले पार्टी नेतृत्वले “पार्टीको एकलौटी धारणालाई सच्चाइ ठान्दै सत्यलाई लुकाउने प्रयास’ गरिरहेको आरोपसमेत लगाएकी छन्। ओली नेतृत्वप्रति परोक्ष आरोप उनको प्रेस विज्ञप्तिमा अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भनिएको छ — ‘नेतृत्वको अकर्मण्यता, सैद्धान्तिक विचलन, मूल्य–मान्यताको उपेक्षा र कार्यकर्ता केन्द्रित होइन, व्यक्ति केन्द्रित सोचले पार्टीलाई कमजोर बनाएको छ।’
भविष्यतर्फ संकेत विद्या भण्डारीले आफ्ना अभिव्यक्तिहरूबाट एमाले पार्टीभित्र सैद्धान्तिक बहसको सुरुआत गर्न खोजेकी छन्। उनले पार्टी पुनःनिर्माणमा ‘पारदर्शी विचार, वैज्ञानिक अध्ययन र जनताको सहभागिता’ अनिवार्य रहेको बताउँदै पार्टी र नेतृत्वले आत्मसमीक्षा नगरेमा वैकल्पिक विचारधाराको पक्षमा देश अघि बढ्ने संकेतसमेत गरेकी छन्।