Skip to content

नेपाल विद्युत प्राधिकरणले गर्याे लोडसेडिङको तालिका सार्वजनिक, चितवनमा दैनिक ६ घण्टा विद्युत् कटौती

काठमाडौं । देशभर अघोषित रूपमा भइरहेको विद्युत् कटौतीपछि नेपाल विद्युत प्राधिकरणले औपचारिक रूपमा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। प्राधिकरणले सुरुमा चितवन जिल्लाका लागि तालिका सार्वजनिक गर्दै दैनिक ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको हो।

चनौली वितरण केन्द्रमार्फत सार्वजनिक गरिएको तालिका अनुसार चितवनका विभिन्न स्थानमा दिनमा दुईपटक गरी जम्मा ६ घण्टा लोडसेडिङ हुनेछ। नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर तथा जगतपुर–रामपुर फिडर अन्तर्गतका क्षेत्रमा विद्युत् कटौती हुनेछ।

प्राधिकरणले हालको लोडसेडिङलाई ‘क्षणिक’ भने पनि यसको स्पष्ट अवधि भने तोकेको छैन। अत्यधिक गर्मी र रोपाइँको समयमा वर्षा नहुँदा सिँचाइ प्रयोजनका लागि बिजुलीको माग अत्यधिक बढेकाले लोड व्यवस्थापन गर्न विद्युत् कटौती गर्नु परेको प्राधिकरणको तर्क छ।

कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यकाल सुरू भएयता देशभर अघोषित लोडसेडिङ सुरु भएको उपभोक्ताहरूको गुनासो छ। शाक्यको नेतृत्वमा विद्युत् कटौती पुनः सुरु भएपछि इन्वर्टर र जेनेरेटरको व्यापार समेत फस्टाएको भन्दै उनलाई व्यवसायीमुखी निर्णय गरेको आरोप समेत लाग्दै आएको छ।

पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यको घोषणा गरेका थिए, तर हाल सार्वजनिक तालिकासहित पुनः लोडसेडिङ सुरु भएपछि सर्वसाधारणमा निराशा छाएको छ। यद्यपि, शाक्यले यसअघि नै ‘प्राविधिक कारण’ बाहेक लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएका थिए। अहिले भने तालिका नै सार्वजनिक गरेर कटौती गर्न बाध्य भएको प्राधिकरणको भनाइ छ।

 

arrow प्रतिक्रिया दिनुहोस्