काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ /८३ का लागि ल्याएको आर्थिक ऐनमार्फत सवारी नियम उल्लङ्घन गर्नेहरूलाई कडा जरिवानाको व्यवस्था गरेको छ । नयाँ प्रावधानअनुसार महानगरले सवारीसँग सम्बन्धित विभिन्न फरक शीर्षकमा जरिवाना ताेकेकाे हो । जुन हालको सङ्घीय यातायात ऐनभन्दा थप कडा रहेको छ ।
महानगरले जथाभाबी पर्किङ्ग गरेमा १ हजार देखि ५ हजार सम्म जरिवाना तोकेको छ। जसमा मोटरसाइकल वा स्कुटर को लागि १००० ,कार जिप भ्यान जस्ता साना चार पाङ्ग्रे सवारी साधनको २५०० ,मिनी बस वा मिनी ट्रकको ३५०० रुपैंया र ठुला सवारी साधन बस वा ट्रकको ५००० तोकेको हो।
त्यसबाहेक महानगरले सार्वजनिक सवारीले बस स्टपबाहेक अन्य स्थानबाट यात्रु चढाए वा झराएमा ५००० रुपैंया ,अनावश्यक हर्न बजाएर ध्वनी प्रदूषण गरेमा १००० रुपैंया ,मापदण्डभन्दा बढी धुवा फालेर वायु प्रदूषण गरेमा १००० रुपैंया र सडकमा माटो ,बालुवा हिलो वा निर्माण सामग्री खसालेर फोहोर गरेमा अधिकतम ५०,००० रुपैयाँसम्म जरिवाना तोकेको हो
काठमाडौँ महानगरपालिकाले सार्वजनिक अनुशासन र सहर सफाइलाई प्राथमिकतामा राख्दै यो कडाइ गरेको महानगरले जनाएको छ । नियमको उल्लङ्घन गरे अब जरिवानाबाट उम्कन गाह्रो पर्ने समेत महानगरले चेतावनी दिएको छ ।