Skip to content
nabil bank inside

बागमती प्रदेशमा एमालेका भरत केसी मन्त्री बन्ने पक्का

nmb bank inside

काठमाडाैं। बागमती प्रदेश सभामा दोलखाबाट प्रत्यक्ष निर्वाचित नेकपा (एमाले) का सांसद भरत केसी मन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको नेतृत्वमा बन्ने नयाँ मन्त्रीपरिषद्मा केसी पनि सहभागी हुने पक्का भएको हो ।

दोलखा क्षेत्र नम्बर ‘ख’ बाट प्रत्यक्ष निर्वाचित केसी एमाले भित्रको सहमति अनुसार मन्त्री बन्न लागेका हुन् । एमाले बागमती प्रदेश कमिटी र संसदीय दलले केसीलाई मन्त्री बनाउने सहमति गरिसकेको स्रोतको दाबी छ । एक वर्षअघि सरकार गठन हुँदा पनि उनी मन्त्रीका दाबेदार थिए । त्यसबेला पार्टीले अर्को चरणमा मन्त्री बनाउने वाचा गरेको थियो ।केसी २०७४ सालको स्थानीय तह निर्वाचनमा दोलखाको भीमेश्वर नगरपालिकाका प्रमुख बनेका थिए । त्यसपछि २०७९ सालको प्रदेशसभा निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारका रूपमा रहेका कांग्रेसका बर्मा लामालाई १,८१९ मतान्तरले हराउँदै विजयी भएका थिए । उनले १९ हजार ४१४ मत प्राप्त गरेका थिए ।

स्रोतका अनुसार उनले पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयको चाहना राखेका छन् । कांग्रेसले दोलखाबाट आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई अघि सारेपछि एमालेमा पनि दोलखाबाट मन्त्री बनाउने दबाब थियो ।यसैबीच, एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले आज दिउँसो १ बजेसम्म मन्त्रीको टुंगो लगाइने जानकारी दिएका छन् । पार्टीभित्र छलफल जारी रहेको र संसदीय दलको बैठकले अन्तिम निर्णय गर्ने उनले बताए ।बहादुरसिंह लामाको नेतृत्वमा एमालेका तर्फबाट बनेका मन्त्रीमध्ये स्वास्थ्य मन्त्री किरण थापालाई मात्रै पुनः दोहोर्याउने तयारी छ । एमालेले यसपालि विगतका मन्त्रीलाई नदोहोर्याउने र प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकता दिने नीतिअनुसार अघि बढेको छ ।

मन्त्री बन्ने दौडमा भरत केसीसँगै प्रत्यक्ष निर्वाचित सांसदहरू मधुसुदन पौडेल (ललितपुर), जयराम थापा (काठमाडौं) र समानुपातिक सांसद बिन्दु श्रेष्ठको नाम चर्चामा छ। यद्यपि मन्त्री आकांक्षीको संख्या धेरै भएकाले अन्तिम नामावली दिउँसो सार्वजनिक हुने एमाले स्रोतको भनाइ छ ।बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ मन्त्रालय छन्। कांग्रेस–एमाले गठबन्धनको सरकारमा अघिल्लै मोडलअनुसार कांग्रेसतर्फबाट मुख्यमन्त्रीसहित ८ र एमालेतर्फबाट ६ जना मन्त्री सहभागी हुनेछन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्