काठमाडौँ । डिस होममा गर्नुपर्ने रकम भुक्तानीमा चरम समस्या देखिएको छ । अरु त अरु, डिस होमको विज्ञापन छापेकाहरुले नै महिनौंसम्म भुक्तानी पाएका छैनन् । कुनै रकम भुक्तानी ९ महिना, कुनै ११ महिना त कुनै त डेढ बर्षसम्म रोकिएको छ ।
विशेषगरी कम्पनीमा तारा मानन्धर सीइओ भएर आएपछि कम्पनीको स्थिति बिजोग हुँदैछ, आफुले पाउनुपर्ने भुक्तानी महिना होइन, बर्षौंसम्म नपाएपछि यतिबेला डिसहोमसँग धेरै चिढिएका छन् । तर कम्पनीकै कर्मचारी भन्छन्( स्थिति बिजोग छ, व्यापार छैन, दिनुपर्ने भुक्तानी दिन नसकेको सत्य हो ।कम्पनीमा आर्थिक संकट देखिएपछि अहिले तिर्नुपर्ने रकम किस्ता किस्तामा तिरिदै आएको छ । यति मात्र होइन, कम्पनी आर्थिक संकटमा परेपछि कम्पनीले विस्तारै महंगा र राम्रा मान्छेलाई विदा गर्दैछ । सस्ता मान्छेबाट काम गराउन खोज्दैछ ।
डिस होममार्फत टिभी हेर्नेको संख्या ह्वात्तै घटेपछि अहिले कम्पनी फाइबरनेट तिर लागेको छ । तर त्यहाँ पनि सोचेजस्तो व्यापार नभएपछि अहिले कम्पनी जसरी हुन्छ आइपीओबाट पैसा निकाल्ने ध्याउन्नमा छ । तर यसरी आर्थिक संकट झेलिरहेको कम्पनीलाई ऋण तिर्नकै लागि मात्र जनताबाट पैसा उठाउन दिनुहुँदैन भन्ने कुरामा धितोपत्र बोर्डका कर्मचारीहरु नै सचेत हुँदा कम्पनीको आइपीओ आउने सम्भावना न्युन बन्दै गएको छ । तर केहि दलालहरु भने बोर्डमा घुस खुवाएरै भए पनि, कस्मेटिक डाटा राखेर भए पनि डिस होमको आईपीओ ल्याई छाड्ने रणनीतिमा छन् ।
अर्थ खबर सँग कुराकानी गर्दै कम्पनीका कर्मचारीले डिस होम चरम आर्थिक संकटमा परिरहेको स्वीकार गरेका छन् । बर्षौंसम्म रकम भुक्तानी गर्न नसक्नु आफ्नो बाध्यता भएको भन्दै कर्मचारीहरुले व्यापार नभएका कारण कम्पनीलाई निकै गाह्रो भईरहेको दाबी गरेका हुन् ।यता कम्पनीमा आर्थिक संकट झेलिएपछि कम्पनीका सीइओ तारा मानन्धरले पनि फोन उठाउन छोडेका छन् । बैंकिङ पृष्ठभूमिबाट आएका उनी बैंक संचालक पनि हुन् । अव डिस होमलाई पार लगाउन नसकिने भएपछि उनी सो जागिर छोडेर बैंकिङमै फर्किन लागेको उनी निकटहरु बताउँछन् । यता डिस होमलाई संकटबाट निकाल्न उनी कुनै पनि हालतमा आइपीओमा लैजान कस्सिएका थिए । तर केहि सिप नलाग्ने देखेपछि उनी आफैं कम्पनीबाट बिदा हुने तरखरमा देखिएका हुन् ।
डिस होमको बिजोग यतिमा मात्र सिमित छैन । कम्पनीभित्र भएका बदमासी र आर्थिक अराजकता बग्रेल्ती छन् । हामी धारावाहिक रुपमा डिस होम भित्रका मनपरी बाहिर ल्याउने प्रयास गर्दैछौँ । किनकि कुरा मात्र, डिस होमको होइन, कुरा जनताको लगानीको हो । जनतालाई आइपीओ ल्याउन खोजिएको कम्पनीबारे बुझ्नु जनताको अधिकार पनि हो ।