Skip to content

‘इच्छा हुँदाहुँदै महिलाहरु राजनीतिबाट पछाडि हट्नुपर्ने स्थिति छ’

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले पनि महिलाहरु इच्छा हुँदाहुँदै राजनीतिबाट पछाडि हट्नुपर्ने स्थिति रहेको बताएकी छन् ।मंगलबार अखिल नेपाल महिला संघले आयोजना गरेको प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले विभिन्न कारणले महिलाहरु राजनीतिबाट विमुख हुनुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘महिलाहरुको अहिलेको अवस्थामा पनि यस्तै समस्या छ । महिलाहरु निरन्तर लागिरहँदा विवाह नगरुन्जेल सक्रिय, विवाह गरेपछि एउटा समस्या, बच्चा भएपछि थप समस्या, पारिवारिक झमेलाले महिलाहरु राजनीतिबाट विमुख हुनुपर्ने अस्वथा छ । मन हुँदाहुँदै पनि पछाडि हट्नुपर्ने स्थिति हिजो पनि थियो आज पनि छ ।’

नेतृ शाक्यले पुरुषहरुलाई माथि उठाउन, नेतृत्वमा स्थायित्व गर्न, देशको प्रधानमन्त्री बनाउने सवालमा महिलाहरुले त्याग गरेको पनि बताइन् ।उनले महिलाहरुको ठुलो संघर्ष र आटले देश खुल्ला राजनीतिक, संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको बताइन् ।

‘संघर्ष गरेर राणा शासनविरुद्ध आवाज उठाउँदै मताधिकार, शिक्षाको हक, लोकतन्त्र वा प्रजातन्त्रको लागि जुन संघर्ष, आँट महिलाहरुले गर्नुभयो, निरन्तर लाग्नुभयो । त्यसको प्राप्तिले गर्दा आज यस ठाउँमा आइपुगेका छौ । हामी खुल्ला राजनीति, संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । अब नेपालमा निरङकुशता र एकात्मक शासन व्यवस्था छैन,’ उनले भनिन् ।

यस्तै कार्यक्रममा बोल्दै नेतृ शशी श्रेष्ठले साझा रुपमा एकतावद्ध भएर लागेकाले नै संविधान प्राप्त गर्न सफल भएको औंल्याइन् । उनले महिलाहरुको हक र अधिकारको लागि अझै पनि लडिरहनुपर्ने बताइन् ।‘हामी सँधैभरी साझा मुद्दामा एकतावद्ध भएर लागेका कारणले गर्दा आजको यो उपलव्धि हो । यो संविधान हाम्रो साझा आन्दोलनको कारणले पाएको हो । ८ मार्च महिला अधिकारको कार्यक्रम गर्दा जेल परेका थियौ । आफ्नो अधिकारको लडाई निरन्तर लडिरहन पर्छ,’ उनले भनिन् ।

यस्तै, कार्यक्रममा पूर्वमेयर विद्यासुन्दर शाक्यले इतिहास बिर्सिनु नहुने बताए ।नेपाली महिलाले पहिलो पटक मताधिकार प्रयोग गरेको दिन एव प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा साधना नामक पुस्तक समेत विमोचन गरिएको थियो ।

arrow प्रतिक्रिया दिनुहोस्