काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको कुल वस्तु निर्यात झन्डै दोब्बरले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा कुल निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने निर्यात ९.६ प्रतिशतले घटेको थियो ।
गन्तव्य मुलुकका आधारमा हेर्दा भारततर्फको निर्यात १५६.७ प्रतिशतले बढेको छ, भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५.२ प्रतिशत र १.४ प्रतिशतले घटेको देखिन्छ । वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैंची, जुटका सामान आदिको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना र चियाको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।
निर्यात र आयात दुवै बढेपनि व्यापार घाटा अझै उच्च स्तरमै रहेको छ । पहिलो महिनामा कुल व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भई ११९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यो वृद्धि ०.४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १६.७ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ९.५ प्रतिशत मात्र थियो ।
यस्तै, समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत वर्षको सोही अवधिमा १३ अर्ब ९८ करोड रुपैयाँ बराबर रहेको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्