काठमाडौँ । नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले एक हजार र पाँच सय रुपैयाँका नोट बन्द गर्नुपर्ने सुझाव दिएका छन् । उनले आफ्नो पोडकास्ट कार्यक्रममा विभिन्न चर्चित व्यक्तित्वहरुसँगको संवादका क्रममा यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
डा. बाबुराम भट्टराई र पत्रकार दिलभूषण पाठकजस्ता व्यक्तिहरुसँगको कुराकानीमा शाहले चुनावमा हुने अत्यधिक नगद खर्च नियन्त्रण गर्न नोटबन्दी आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रमका क्रममा डा. भट्टराईले केही नेताहरूले घरमै करोडौं रुपैयाँ नगद राख्ने प्रसङ्ग उठाएपछि शाहले सामान्य जनताको घरमा पनि १० लाख रुपैयाँसम्म नगद रहनु नपर्ने बताउँदै १ हजार र ५ सयका नोटहरू तत्काल बन्द गर्नुपर्ने धारणा राखेका हुन् ।
शाह नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष समेत हुन् । करिब २५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका उनले चुनावका समयमा कसरी ठूलो परिमाणमा नगद सर्कुलेट हुने गर्छ भन्ने राम्रो बुझाइ रहेको बताएका छन् ।