काठमाडौं । नेपाली सेनाका युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी मनोज थापाले जेनजी आन्दोलनपश्चात उत्पन्न अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेनाले सक्रिय भूमिका निर्वाह गरेको जानकारी दिएका छन् ।
शुक्रबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलनपश्चात शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाले सक्रिय भूमिका निर्वाह गरेको जानकारी दिएका हुन् ।उनका अनुसार भदौ २३ गते दिउँसो १२:३० बजे काठमाडौंमा कफ्र्यु आदेश जारी भएपछि संघीय संसद् भवन (नयाँ बानेश्वर) सुरक्षाका लागि सेना खटाइएको थियो । त्यसैदिन साँझ ५:१० बजे सुनसरीको इटहरीमा पनि कफ्र्यु जारी भएपछि सेनाको फौज परिचालन गरिएको थियो ।
उनले आन्दोलनका क्रममा सेनाले गरेका गतिविधिबारे संक्षिप्त विवरण प्रस्तुत गर्दै भने, ‘भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाहरुको विवरणबारे यहाँहरु जानकार नै हुनुहुन्छ । भाद्र २३ गतेको १२:३० बजेको समयमा कफ्र्यू घोषणा भएपछि काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन सुरक्षाको लागि नेपाली सेना खटिएको थियो । साथै सोहि दिन १७:१० बजे सुनसरी जिल्लाको इटहरीमा समेत कफ्र्यू घोषणा भएपछि सेनाको फौज खटिएको थियो । भाद्र २४ गते नेपाली सेनाले देशको शान्ति सुरक्षाको स्थिती चुनौति हुँदै गएपछि अति विशिष्ट तथा विशिष्ट व्यक्ति, राजनीतिक व्यक्ति र सुरक्षाकर्मीहरुलाई सुरक्षित स्थानमा उद्धार गरेको थियो ।’
भदौ २४ गते शान्ति सुरक्षाको स्थिति थप चुनौतीपूर्ण हुँदै गएपछि नेपाली सेनाले अति विशिष्ट तथा विशिष्ट व्यक्ति, राजनीतिक नेतृत्व र सुरक्षाकर्मीहरुलाई सुरक्षित स्थानमा उद्धार गरेको समेत उनले जानकारी गराए । त्यसैदिन मुख्य सचिवसहित सुरक्षा निकाय प्रमुखहरूले संयुक्त अपिल जारी गरेका थिए भने नेपाली सेनाले पनि संयमित रहन, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आम नागरिकमा अनुरोध गरेको थियो ।त्यसैदिन राति ९:३० बजे प्रधानसेनापतिको सम्बोधनपछि राति १० बजेबाट नेपाली सेना देशभर प्रभावकारी रूपमा शान्ति सुव्यवस्था कायम गर्न तैनाथ भएको थियो । सेनाको यो परिचालन भदौ २५ देखि भदौ २८ बिहानसम्म देशव्यापी रूपमा कायम रहेको थियो ।
उक्त अवधिमा नेपाली सेनाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग संयुक्त रूपमा विभिन्न किसिमका सुरक्षा गतिविधिहरू सञ्चालन गरेको सहायक रथी थापाले जानकारी दिए ।उनले भने, ‘मुख्य सचिव सहित सुरक्षा निकायका प्रमुखहरुले संयुक्त अपिल जारी गर्नुका साथै नेपाली सेनाले सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन अनुरोध समेत गरेको थियो । यसैदिनको २१ :३० बजे प्रधानसेनापतिको सम्बोधन पश्चात नेपाली सेना २२ बजेबाट प्रभावकारी र भरपर्दो शान्ति सुव्यवस्था कायम गर्न देशभर तैनाथ भएको थियो । भाद्र २५ गते ततपश्चात भाद्र २८ गते बिहानसम्म देशभर नेपाली सेना शान्ति सुरक्षा कायम गनै तैनाथ रहेको थियो । यसैअवधिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँग संयुक्त रुपमा विभिन्न किसिमका सुरक्षा गतिविधिहरु सञ्चान गरेको थियो ।’