काठमाडौँ । प्रभु बैंक प्रकरणमा बैंकसँग जोडिएको जनाकी मेडिकल कलेजको फाइल पनि अनुसन्धानमा तानिएको छ । जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद पाण्डेलाई अनुसन्धानमा तानेर प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेपछि अहिलेका कावा सीइओ पनि पक्राउ पर्ने सम्भावना बढेको छ । कारण, जानकी मेडिकल कलेजको फाइलमा अहिलेका कावा सीइओ निराल लम्सालको समेत संलग्नता देखिन्छ ।
सीआईबीले अनुसन्धानका क्रममा पाण्डेले ऋण दुरुपयोग गरेको संकेत भेटिसकेको छ । सोहि आधारमा यो केसलाई थप अनुसन्धान गरिरहेको सीआईबी स्रोतको दाबी छ । पाण्डेले ऋण लिने बेलामा जग्गा खरिद तथा चालु पुँजी कायम गर्ने उद्देश्य देखाइएको भए पनि त्यसो नगरिएको पाइएको छ । ऋणका नाममा एउटा प्रयोजनका लागि एउटा कम्पनीका नाममा लिएको कुल १३ करोड रुपैयाँ ऋणमध्ये ११ करोड रुपैयाँ पाण्डे नै अध्यक्ष रहेको जनकपुरस्थित जानकी मेडिकल कलेजको खातामा सारिएको भेटिएपछि यो केस थप रहस्यमयी देखिएको छ ।
यसरी बिग्रिएको फाइलका बारेमा राष्ट्र बैंकलेसमेत केहि समय अघि नै कैफियत लेखिदिएको थियो ।
सो ऋणको केस मिलाउने क्रममा अहिलेका कावा सीइओ लम्सालको संलग्नताबारे पनि राष्ट्र बैंकभित्रै बहस भएको थियो । तर बैंकले यो केस सामसुम पार्ने प्रयास गरेको थियो । तर, अनुसन्धान अघि बढ्दै जाँदा लम्साल पनि तानिने र पक्राउ गरी सीआईबीले थप अनुसन्धान गर्न सक्ने देखिएको छ ।
यतिबेला लम्सालले प्रमाण नष्ट गर्न सक्ने भन्दै उनलाई पक्राउ गरी थप अनुसन्धान गर्नुपर्ने विषयमा सीआईबीभित्रै छलफल भएको सीआईबी स्रोतको दाबी छ ।
स्वयम् लम्सालले पनि आफु कुनै पनि बेला समातिन सक्ने तथ्य स्वीकारेका छन् । ‘कहाँ कहाँ सहि गरिएको छ, के के भएको छ कुन्नि, अव कुनै पनि बेला जेल जानुपर्ने हुन सक्छ ।’ अर्थ खबरसँगको भेटमा उनले भनेका थिए ।