काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्सका अभिकर्ताले झुटो आश्वासन देखाएर बीमा गराउने गरेको पाइएको छ ।प्रोडक्टमा भएका विवरणको अपव्याख्या गर्दै ठूला ठूला सपना देखाउने, र ग्राहकबाट रकम लिएपछि भनेअनुसारको काम नहुने गरेको पाइएको हो । त्यस्तै पछिल्लो घटना, दोलखामा घटेको प्रमाण अर्थ खबरले फेला पारेको छ ।
दोलखाका तामाङ्ग यसरी ठगीए
दोलखाको भिमेश्वर नगरपालिका–९ का धावासाङ तामाङले सिटिजन लाइफ इन्स्योरेन्स चरिकोट शाखामा पुगेर बीमा गराए । शाखाका कर्मचारीले प्रोडक्टमा भएका विवरणहरु निकै आकर्षक रहेको भन्दै उनलाई बीमा गर्न प्रोत्साहन गरे । यसरी उनलाई बीमा गराउन प्रोत्साहन गर्ने व्यक्ति थिए शाखाका तत्कालीन प्रमुख बासुदेव भण्डारी ।
तामाङका अनुसार, भण्डारीले आफुले गरेको बीमावापत पहिलो पटक रु. ८१,५३२ तिर्नुपर्ने, दोस्रो वर्षदेखि रु. ३१,५३२ मात्र वार्षिक किस्ता तिर्ने भन्दै बीमा गर्न राजी गराएका थिए । जम्मा १६ वर्षमा करिब रु. ५,५४,५१२ तिरेपछि १५ लाख पाइने हिसाबकिताबमात्र देखाइएन, उनले तिरेको रकमको ९०% ऋण पनि कम्पनीले उपलब्ध गराउने भन्दै आश्वासन दिईयो ।
सोहि अनुसार तामाङले सिटिजन्स लाइफमा बीमा गराए र पहिलो किस्ता बुझाए । तर दोश्रो बर्ष बीमाको नवीकरण गर्न जाँदा उनलाई जे भनियो, त्यसपछि उनले ठगीमा परेको महसुस गरे । शाखामा प्रमुख परिवर्तन भईसकेका थिए । नयाँ प्रमुखले उनलाई सो पोलिसीमा ९० प्रतिशत ऋण नआउने र १६ बर्षपछि १५ लाख नभई ६-७ लाख रुपैयाँ मात्र आउने भनियो ।
आफुलाई जे भनिएको थियो, सो अनुसार नभएपछि तामाङले रकम फिर्ता मागे । तर यो घटना घटेको ४ बर्षसम्म पनि सो रकम फिर्ता भएको छैन ।
सिटिजन्स लाइफमा बढ्दैछ ‘मिससेल’, ग्राहकको होसियारी आवश्यक
तामाङ त एउटा प्रतिनिधि उदाहरण मात्र हुन्, यसरी मिससेल गरिएका उदाहरण थुप्रै छन् सिटिजन्स लाइफमा । कुनै पनि शाखामा आफ्नो कार्यकाल सकिँदै गर्दा, कम्पनी छोड्ने क्रम हुँदै गर्दा यस्तो काम बढेको पाइएको छ । ग्राहकको सोझापनको फाइदा उठाएर हुने नहुने गफ दिएर बीमा गराउने र पछि शाखामा प्रमुख परिवर्तन भएपछि सो प्रोडक्टमा त्यस्तो कुनै सेवा छैन भन्ने क्रम बढेको छ । सिटिजन्स लाइफमा बढेको यो बदमासीले समग्र बीमा क्षेत्र नै बदनाम हुन थालेको छ । सिटिजन्स लाइफले गरेको मिससेलका कारण बीमा कम्पनीले ठग्छन् भन्ने भाष्य निर्माण हुँदै गईरहेको छ ।
मोफसलमा बढ्दैछ बीमाका नाममा ठगी !
केहि समय अघि मात्रको घटना हो, सिटिजन्स लाइफमा बीमा गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा ३४ वर्षीय कमलराम विकलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि स्थानीयवासीहरुबाट सिटिजन्स लाइफमा बीमा गरिदिन्छु भंडिया रकम सङ्कलन गरेर ठगी गरेको आरोप लागेको थियो । महेन्द्रनगरबाट रु २५ लाख र बैतडीबाट रु १५ देखि २० लाख रकम सङ्कलन गरेर स्थानीयवासीलाई निजले ठगेको प्रारम्भिक अनुसन्धानले देखाएको थियो । उनी एजेन्टका रुपमा कार्यरत थिए । आफुहरुलाई ठगी गरेको भन्दै उनीविरुद्ध ५० बढी स्थानीयले प्रहरीलाई गुहारेपछि उनी पक्राउ परेका थिए ।
के भन्छ कम्पनी ?
कम्पनीका सूचना अधिकारी दिप बहादुर बीसीले मिस सेल गर्ने अभिकर्तालाई कारवाही हुने बताएका छन् । अर्थ खबरसँग कुराकानी गर्दै उनले त्यस्तो मिस सेल गर्ने जो कोहिलाई कारवाही हुने बताएका हुन् । यद्यपी दोलखाको घटनाबारे भने उनले आफुलाई थाहा नभएको दाबी गरेका छन् ।
कम्पनीको दोलखास्थित कर्मचारीले पनि कम्पनीमा भएको घटनामा कम्पनीको गल्ती भएको स्वीकार गरेका छन् । उनीहरुले ठुलो कम्पनीमा केहि ससाना त्रुटी र मिससेल हुनु ठुलो कुरा नभएको भन्दै आफ्नो बदमासीलाई लुकाउने प्रयास गरिरहेका छन् ।
सिटिजन्स लाइफको बदमासी (भाग-२) प्रतिक्षा गर्नुहोस्
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्