काठमाडौँ । मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान भएको बस दुर्घटनापछि मृतक तथा घाइतेका आफन्तहरूले बुधबार मन्थली बजार क्षेत्रमा सवारी आवतजावत बन्द गराएका छन् । पीडित पक्षले दोषीमाथि कारबाही र क्षतिपूर्तिसहित न्यायको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
आफन्तहरूले बिहानैदेखि मुख्य सडक खण्डमा सवारी साधन सञ्चालन रोक्दै विरोध जनाएका छन् । यातायात अवरुद्ध हुँदा मन्थली बजार तथा आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।मंगलबार काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको पूर्वी अरनिको यातायात प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको धुलिखेल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकामध्ये ८ जनाको शव मन्थली नगर अस्पतालको पोष्टमार्टम गृहमा र ४ जनाको शव रामेछाप अस्पतालमा राखिएको छ । तर बस सञ्चालक कम्पनीका आधिकारिक प्रतिनिधि सम्पर्कमा नआएकाले पीडित परिवारका मागबारे सहमति जुट्न नसक्दा पोष्टमार्टम प्रक्रिया रोकिएको छ ।स्थानीय प्रशासनले मंगलबार रातिदेखि नै पीडित पक्षसँग वार्ता गर्दै आएको भए पनि कम्पनीका अधिकारी उपस्थित नहुँदा निष्कर्षमा पुग्न नसकिएको जनाइएको छ । आफन्तहरूले कम्पनीका जिम्मेवार प्रतिनिधि उपस्थित भई स्पष्ट धारणा सार्वजनिक नगरेसम्म शव परीक्षण र अन्य प्रक्रिया अघि बढ्न नदिने अडान राखेका छन् ।
पीडित पक्षले दुर्घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । प्रशासनले वार्ता र समन्वयमार्फत समस्या समाधानका लागि प्रयास जारी राखेको जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्