काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको समग्र विकास र सभ्यता संरक्षणका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।‘हामी आयौं परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले कर्णालीको विशेषता उल्लेख गर्दै देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ र सबैभन्दा गहिरो ताल रहेको क्षेत्र कर्णाली भएको बताए ।
उनले उक्त गहिराइलाई अहिलेसम्म कुनै पनि सरकार वा राजनीतिक दलले सही रूपमा बुझ्न नसकेको दाबी गर्दै त्यसलाई बुझ्ने पार्टी रास्वपा नै भएको उल्लेख गरे ।उनले भने, ‘देशको सबैभन्दा लामो नदि रहेको ठाउँ, देशको ठूलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ, देशको सबैभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराइले आजसम्म कुनै सरकारले, कुनै पार्टीले देशले बुझ्न सकेन । त्यो गहिराईलाई बुझ्न चाहन्छौं । त्यो गहिराई बुझ्ने पार्टी हो रास्वपा ।’
उनले डोल्पामा उत्पादन हुने सुनजस्तै मूल्यवान यार्सागुम्बा विश्वभर पुग्न सक्ने तर कर्णालीकै स्याउ र मार्सी चामल भने चितवन र झापा जस्ता जिल्लामा समेत सहज रूपमा पुग्न नसक्नु विडम्बना भएको बताए । रास्वपा कर्णालीका उत्पादनलाई कम्तीमा देशव्यापी रूपमा पु¥याउने पार्टी बन्न चाहेको उनले स्पष्ट पारे ।‘आजको दिनमा डोल्पाको सुनजस्तो मानिने यार्सागुम्बा विश्वभरी पुग्न सक्छ तर कर्णालीको स्याउ र मार्सी चामल त्यही चितवन र झापा पुग्न सक्दैन, यहाँको उत्पादनलाई कम्तीमा पनि देशभरी पुर्याउन चाहने पार्टी बन्न चाहन्छ रास्वपा,’उनले भने ।
उनले सिंजा उपत्यकालाई नेपाली तथा खस भाषाको उद्गमस्थलका रूपमा उल्लेख गर्दै यहाँको भाषा, लिपि, चित्रकला, नाचगान र जात्रासहितको सभ्यतालाई जोगाउन आवश्यक रहेको बताए । कर्णालीको सभ्यता संरक्षण गर्ने पार्टीका रूपमा रास्वपा अघि बढ्न चाहेको उनको भनाइ थियो ।उनले भने, ‘सिंजा उपत्यका सभ्यता भएको ठाउँ,नेपाली भाषाको उद्गम स्थल,खस भाषाको उद्गम स्थल, यहाँ आफ्नै भाषा छ, आफ्नै लिपि छ । आफ्नै चित्रकला छ, आफ्नै नाचगान छ, आफ्नै जात्रा पनि छ, यो सबै भयो भने एउटा सभ्यता मानिन्छ त्यो सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी । कर्णालीको सभ्यतालाई हामी जोगाएर राख्न चाहन्छौं र त्यो जोगाउने पार्टी हो’
त्यसैगरी उनले कर्णालीमा अझै भोकमरी, बालबालिका तथा मातृ मृत्युदरजस्ता समस्या विद्यमान रहेको उल्लेख गरे । कर्णालीको गरिबी र पीडालाई राजनीतिक रूपमा उपयोग गर्ने नेता धेरै आए पनि त्यसलाई बुझ्ने नेतृत्व अभाव रहेको उनले टिप्पणी गरे । कर्णालीवासीको सपना बोकेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले रास्वपाले सार्वजनिक गरेको बाँचापत्रमार्फत सो अभियानको सुरुवात गरिएको बताए ।उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी देशमा अझै पनि भोकमरी छ, बालबालिकाहरुको मृत्युदर बढ्दो छ, महिला आमाहरुको मृत्युदर बढ्दो छ, यो समस्या कर्णालीमा छ । र यो कर्णालीको पीडालाई, गरिबीलाई, दुखलाई बेच्ने नेता धेरै आएँ । तर बुझ्ने नेता धेरै आएका छैनन्, त्यो बुझ्ने नेता बन्न चाहन्छन् राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु ।
अब ‘कर्णालीका सुइना हाम्रा सुईना’ (कर्णालीका सपना, हाम्रा पनि सपना) भन्या जस्तै तपाईंहरुको त्यो सपना, तपाईंहरुको त्यो सपना बोकेर जान पाउँ र त्यो सपना बोक्ने सुरुवात आज हामीले बाँचापत्रमा गरेका छौं ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्