Skip to content

निर्वाचन प्रहरीलाई सीप र उद्यमशीलतासँग जोड्न प्रधानमन्त्रीलाई नैनसिंह महरको ध्यानाकर्षण

nmb bank inside

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महरले निर्वाचनमा खटिने म्यादी (निर्वाचन) प्रहरीलाई बिदाइपछि सीप र उद्यमशीलतासँग जोड्न सरकारसँग माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मंगलबार प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै नेता महरले निर्वाचनपछि युवालाई खाली हात घर फर्काउने प्रवृत्तिको अन्त्य गर्न सुदृढ राष्ट्रिय नीति निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

आवधिक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न म्यादी प्रहरीको भूमिका अतुलनीय रहे पनि निर्वाचनको भोलिपल्टै उनीहरू बेरोजगार बन्नुपर्ने बाध्यता रहेको उनले औंल्याएका छन् । ‘राष्ट्रलाई आवश्यक पर्दा सुरक्षाको जिम्मेवारी बोक्ने ती युवाहरू निर्वाचनको भोलिपल्टै बेरोजगार भई रित्तो हात घर फर्किनुपर्ने र अन्ततः वैदेशिक रोजगारीको अँध्यारो सुरुङमा भासिनुपर्ने विडम्बनापूर्ण यथार्थ हाम्रोसामु छ’,पत्रमा भनिएको छ ।

राज्यले युवाहरूलाई केही दिनको रोजगारी दिएर बिदाइ गर्नुको सट्टा उनीहरूको बिदाइलाई ‘बेरोजगारीको सुरुवातु नभई ‘उद्यमशीलताको प्रस्थानबिन्दुु बनाउनुपर्ने महरको भनाइ छ । यसका लागि युवाहरूको रुचि र स्थानीय सम्भाव्यताका आधारमा आधुनिक कृषि, पर्यटन, प्राविधिक सीप र घरेलु उद्योगजस्ता तालिम दिनुपर्ने र उद्यमका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने उनले बताएका छन् ।

निर्वाचन प्रहरी उद्यमशीलता रूपान्तरण कार्यक्रम ल्याउन माग

नेता महरले गृह, श्रम, उद्योग र अर्थ मन्त्रालयको समन्वयमा ‘निर्वाचन प्रहरी उद्यमशीलता रूपान्तरण कार्यक्रमु तत्काल मन्त्रिपरिषद्‌बाट पारित गरी देशव्यापी रूपमा लागू गर्न जोडदार माग गरेका छन् ।

यस्तो बृहत् आर्थिक तथा सामाजिक रूपान्तरणको अभियान संघीय सरकारको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उनले बहुपक्षीय समन्वयको आवश्यकतासमेत औंल्याएका छन् । जसका लागि देशका विश्वविद्यालयहरूले नवप्रवर्तन र बजार अनुसन्धानमा प्राज्ञिक नेतृत्व लिनुपर्ने र सीटीईभीटीले व्यावहारिक सीप तथा प्राविधिक पाठ्यक्रम सञ्चालन गर्नुपर्ने उनको सुझाव छ । त्यसैगरी, सीप सिकेर गाउँ फर्केका युवाहरूलाई बिउ पुँजी, सहुलियतपूर्ण कर्जा र बजार व्यवस्थापनमा प्रदेश तथा स्थानीय तहले अभिभावकत्व ग्रहण गर्नुपर्ने पत्रमा उल्लेख छ ।

सानो पुँजी र सीपबाट सुरु हुने यस्ता हजारौं स्थानीय उद्यमले देशमा व्याप्त बेरोजगारी र युवा पलायनलाई रोक्न मद्दत पुग्ने महरको विश्वास छ । यसले आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ऐतिहासिक भूमिका खेल्ने उनले बताएका छन् । नेता महरले उक्त पत्रको बोधार्थ गृह, श्रम, उद्योग र अर्थ मन्त्रीलाई समेत बुझाएका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्