Skip to content

कर्णालीका रास्वापाले मन्त्रि मण्डलमा ठाउँ पाउलान् ?

nmb bank inside

काठमाडौँ। कर्णाली प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डा एक्लै फहराउने उम्मेदवारका रूपमा सुर्खेत क्षेत्र नं. २ बाट रमेश कुमार सापकोटा ३० हजार ८२६ मतका साथ विजयी भएका छन्। यस जितसँगै उनी कर्णालीबाट रास्वपाका एक मात्र प्रत्यक्ष निर्वाचित प्रतिनिधि बनेका छन्।

धेरैका लागि सापकोटा अहिले कर्णालीको आवाज र आशाको प्रतीक बनेका छन् । तर राजनीतिक वृत्तमा अहिले एउटा मुख्य प्रश्न उठिरहेको छ-के केवल एक सिट जितेकै आधारमा रास्वपाले उनलाई मन्त्रीमण्डलमा स्थान दिनेछ?

विश्लेषकहरूका अनुसार कर्णाली प्रदेशमा रास्वपा समानुपातिकतर्फ दोस्रो ठूलो शक्ति बनेको छ। यसले कर्णालीका मतदाताले रास्वपाको विचार र राजनीतिक एजेन्डाप्रति उल्लेख्य समर्थन जनाएको संकेत गर्छ। यस्तो अवस्थामा त्यो जनमतको सम्मान गर्दै पार्टी नेतृत्वले कर्णालीबाट सरकारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने दबाबमा पर्न सक्ने देखिन्छ।

यसका साथै रास्वपाले आफूलाई केवल काठमाडौंकेन्द्रित पार्टी नभएको सन्देश दिन पनि कर्णालीको आवाज सरकारसम्म पुर्‍याउने रणनीति अपनाउन सक्ने सम्भावना छ। यदि रमेश सापकोटा मन्त्रीमण्डलमा पुगे भने कर्णालीका दीर्घकालीन समस्या पूर्वाधार विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दा केन्द्र सरकारमा अझ मजबुत रूपमा उठ्ने अपेक्षा गर्न सकिन्छ।

यद्यपि रास्वपाले प्रायः मेरिट र कार्यसम्पादनलाई प्राथमिकता दिने नीति अपनाउँदै आएको छ। सापकोटाले प्राप्त गरेको ठूलो मतभार उनको लोकप्रियताको संकेत भए पनि अन्ततः सत्ता समीकरण, गठबन्धनको अंकगणित र पार्टीभित्रको रणनीतिले नै उनको मन्त्री बन्ने सम्भावना निर्धारण गर्नेछ।

कर्णालीले केवल मत मात्र दिएको छैन, संसदमा ‘घण्टी’ बजाउने जिम्मेवारी पनि दिएको छ। अब हेर्न बाँकी छ—रास्वपाले मन्त्रीमण्डलमा स्थान दिएर कर्णालीको आवाज अझ बुलन्द बनाउँछ कि त्यो घण्टी संसदभित्रमै सीमित रहन्छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्