Skip to content

सांसदहरुले गराए प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै समस्याबारे प्रधानमन्त्रीलाई जानकारी

nmb bank inside

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले प्रधानमन्त्री बालेन शाहसँग भएको चरणबद्ध छलफलपछि कोशी प्रदेशका समस्या र समाधानका विषयमा छलफल केन्द्रित भएको बताएका छन् । प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले कोशी प्रदेशका सामूहिक समस्या तथा प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको बताए ।

उनका अनुसार प्रधानमन्त्रीले तत्काल समाधान गर्नुपर्ने तथा सम्भव समस्याहरू के–के हुन् र तिनको समाधानका उपाय के हुन सक्छन् भन्ने विषयमा जिज्ञासा राखेको बताए ।उनले भने, ‘समग्रतामा कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक निर्वाचन क्षेत्रका आ–आफ्ना समस्याहरुको बारेमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो । उहाँले हामीलाई तत्काल समाधान गर्नुपर्ने र गर्न सकिने समस्याहरु के के हुन् र तिनिहरुको समस्याको समाधानको बाटो के हो ? भन्ने सन्दर्भमा प्रधानमन्त्रीले जिज्ञासा राख्नु भएको थियो । त्यसै विषयमा केन्द्रित भएर सबै सांसदहरुले आफ्नो धारणा राख्ने काम भयो ।’

न्यौपानेले सोही विषयमा केन्द्रित रहेर सबै सांसदहरूले आ–आफ्ना धारणा राखेको जानकारी दिए ।यसैगरी कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका रास्वपा सांसद खेमराज कोइरालाले कैलाली ४ का समस्या समाधानको सन्दर्भमा प्राथमिकताको आधारमा अघि बढ्ने कुरा भएको बताए ।यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णाली क्षेत्रको विकासमा विशेष ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए । उनले कर्णालीमा सडक विस्तार आवश्यक रहेको उल्लेख गर्दै कर्णाली राजमार्गको स्तरोन्नति र समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही गर्न माग गरिएको बताए ।

उनले भने, ‘कर्णालीमा सडकहरु विस्तार गरिनुपर्छ । हामीले आज कर्णाली राजमार्ग स्तर उन्नती र समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्नका लागि प्रधानमन्त्रीलाई अपिल गरेका छौं । कर्णाली राजमार्ग अन्तरगतको सुर्खेत–दैलेख स्तर उन्नतीको कालोपत्रे गरिदिन र मुगुको रारासम्म कालेपत्रे गरिदिन अपिल गरेका छौं ।’उनले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–दैलेख खण्डको स्तरोन्नति गरी कालोपत्रे गर्न तथा मुगुको रारासम्म सडक कालोपत्रे गर्न प्रधानमन्त्रीलाई जानकारी गराइएको बताए ।

त्यस्तै, विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा पनि छलफल भएको उनले जानकारी दिए । उनले अघिल्लो सरकारले बिना पर्याप्त अध्ययन विकास आयोजनाको बजेट रोकेको भन्दै आवश्यक स्थानमा बजेट खुला गर्नुपर्नेमा जोड दिए ।शाहीले समयमै काम सम्पन्न नगर्ने ठेकेदारमाथि कडा कारबाही गर्न, लाइसेन्स खारेज गर्न तथा कालोसूचीमा राख्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए । साथै, पटक–पटक म्याद थप्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

उनले भने, ‘हामीले विभिन्न विकास निर्माणसँग जोडिएका कुराहरुमा छलफल गरेका छौं । प्रधानमन्त्रीलाई अस्तिको पहिलाको सरकारले जसरी विकास निर्माणको सबै कुरा नहेरीकन बजेट रोकिदिएको अवस्था थियो । त्यो खुला गर्नुपर्छ , जहाँ आवश्यकता छ त्यहाँ बजेट रोक्का गर्न मिल्दैन, जहाँ आवश्यकता छैन त्यो बन्द गर्दा हुन्छ । अब जसले समयमै काम गर्दैन ति ठेकेदारलाई कारवाही गर्नुस् । उनीहरुको लाइसेन्स रद्ध गर्नुस्,उनीहरुलाई कालोसूचीमा राख्नुस् । तर पटक पटक म्याद थप्ने प्रवृत्तिको अन्त्य गर्नुस् भनेर प्रधानमन्त्रीलाई भनेका छौं ।’

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्