Skip to content

कर्णालीका समस्या समाधानका लागि सांसद सापकोटाको दौडधूप: गृहमन्त्री र ऊर्जामन्त्रीसँग सकारात्मक छलफल

nmb bank inside

काठमाडौँ। कर्णाली प्रदेशका पूर्वाधार, शान्ति सुरक्षा र विकासका आयोजनाहरूलाई गति दिन प्रतिनिधिसभा सदस्य रमेश कुमार सापकोटाले सक्रियता बढाएका छन् । राजधानी काठमाडौँमा हालै गृह र ऊर्जा मन्त्रालयमा भएका छुट्टाछुट्टै भेटवार्ताहरूमा कर्णालीको हितका लागि महत्वपूर्ण सहमति र प्रतिबद्धता प्राप्त भएको हो ।

प्रहरी कार्यालयहरू कर्णाली स्थानान्तरण गर्ने प्रक्रिया सुरु सांसद सापकोटाले गृहमन्त्री सुदन गुरुङसँग भेट गरी हाल लुम्बिनी प्रदेशमा रहेका कर्णाली प्रदेशका महत्वपूर्ण प्रहरी कार्यालयहरूलाई तत्काल कर्णालीमै स्थानान्तरण गर्न माग गरेका छन् । प्रदेश स्थापना भएको लामो समय भइसक्दा पनि सुरक्षा निकायका केही प्रमुख संरचनाहरू बाहिरै रहँदा कार्यसम्पादनमा समस्या भएको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराइएको थियो। छलफल पश्चात् गृहमन्त्री गुरुङले यस प्रक्रियालाई तत्काल अगाडि बढाउने सम्बन्धमा सकारात्मक सङ्केत दिएका छन् ।

जलविद्युत् र सिँचाइमा ऊर्जामन्त्रीको विशेष निर्देशन

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठसँग भएको छलफलमा कर्णालीका ठूला आयोजनाहरूको विषयले प्राथमिकता पाएको छ । भेटमा बेतन कर्णाली हाइड्रो, जीएमआर (GMR) र सुर्खेत क्षेत्र नं. २ मा निर्माणाधीन बृहत् सिँचाइ परियोजनाका बारेमा विस्तृत समीक्षा भएको थियो ।

मन्त्री श्रेष्ठले यी परियोजनाहरू सफल बनाउन मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, अन्तर-मन्त्रालय समन्वय गर्नुपर्ने विषयमा समेत तदारुकता देखाउन मन्त्रीले आफ्नो सचिवालयलाई स्पष्ट निर्देशन दिएका छन् ।

‘परिवर्तन हाम्रै पालामा हुन्छ’: सांसद सापकोटा
जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न आफू निरन्तर लागिरहने बताउँदै सांसद सापकोटाले यो प्रयासको सुरुवात मात्र भएको उल्लेख गरेका छन् । उनले भने, ‘जनताको प्रमुख आवश्यकतालाई मध्यनजर गरी मेरो दौडधूप निरन्तर रहनेछ । परिणाम आउन केही समय लाग्ने हुनाले धैर्य गर्न आग्रह गर्दछु। म दृढ विश्वासका साथ भन्छु- परिवर्तन हाम्रै पालामा सम्भव छ।’

कर्णालीको विकासका लागि केन्द्र सरकारसँगको यो समन्वयले आगामी दिनमा ठोस नतिजा निकाल्ने अपेक्षा गरिएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्