काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गरेका छन् । एसोसिएसनका पदाधिकारीहरूसँग आज बिहान भएको भेटमा अर्थमन्त्रीले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर रूपमा सुशासनका काममा केन्द्रित रहेको बताए ।
उनले भने, ‘नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु छ, त्यसका लागि सुशासनका काम गर्नुपर्छ । जनमत पनि यही हो, हामी यसैमा केन्द्रित छौँ ।’अर्थमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार निजी क्षेत्रविरोधी नभएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने दिशामा काम भइरहेको बताए । ‘आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ,’ उनले भने,‘नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँदैछ, हल्ला र गलत अफवाहको पछि नलागौँ ।’
उनका अनुसार केही अनुसन्धानहरू पुरानै भए पनि अहिले अन्तिम चरणमा पुगेका छन् । उनले अपराध गर्नेहरूलाई उन्मुक्ति नदिने तर कसैप्रति छानीछानी प्रतिशोध पनि नलिइने स्पष्ट पारे । साथै सरकार निजी क्षेत्रमैत्री रहेको दाबी गर्दै आफ्नो पहिलो निर्णयले नै त्यसको पुष्टि गर्ने उनको भनाइ थियो ।शेयर बजारबारे पनि उनले सरकारको धारणा स्पष्ट पार्दै आफूहरूको पार्टी शेयर बजारप्रति उदार रहेको र घोषणापत्रमै स्पष्ट दृष्टिकोण राखिएको बताए । पछिल्लो समय बजारमा फैलाइएका अफवाहप्रति सचेत रहन उनले सबैलाई आग्रह गरे ।
भेटमा एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीलगायत प्रतिनिधिहरूले हाल बजारमा गलत हल्ला फैलाइएको भन्दै गुनासो गरेका थिए । उनीहरूले शेयर बेचेर बाहिरिएका तथा पुनः बजारमा प्रवेश गर्न खोज्ने केही समूहले साना लगानीकर्तालाई त्रसित बनाउने खालका अफवाह फैलाइरहेको बताए ।
प्रतिनिधिहरूले संस्थागत लगानीकर्ताका लागि बजारमा सहज वातावरण आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रमाथिको अनुसन्धान जायज भए पनि गोप्य रूपमा सञ्चालन हुनुपर्ने धारणा राखे । साथै पूँजीबजार सुधार कार्यदलका सुझावहरू कार्यान्वयन गर्न सरकारसँग माग पनि गरेका थिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्