काठमाडौँ। भोटेकोशी बाढीपीडितकालाई वितरण गर्न संकलन गरिएका राहत सामग्रीमा गम्भीर लापरबाही फेला परेको छ । अनुगमनका क्रममा म्याद गुज्रेका तथा उपभोगका लागि अयोग्य खाद्य सामग्री वितरणका लागि तयारी अवस्थामा राखिएको भेटिएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त अनुगमन टोलीले राजधानीका विभिन्न पाँच स्थानमा गरेको आकस्मिक निरीक्षणमा यस्तो तथ्य बाहिर आएको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनमा सरकारी निकायदेखि प्रहरी तालिम केन्द्रसम्मका भण्डारण स्थलमा म्याद सकिएका सामग्री भेटिएका छन्।
अनुगमनका क्रममा बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग, सामाखुसीस्थित प्रहरी तालिम केन्द्र तथा राधा स्वामी सत्सङमा भण्डारण गरिएका राहत सामग्रीमा कैफियत फेला परेको विभागले जनाएको छ। राहत संकलन र प्याकेजिङ भइरहेका ती स्थानमा म्याद गुज्रेका सामग्री अन्य खाद्य वस्तुसँगै वितरणका लागि तयारी अवस्थामा राखिएको थियो।
बबरमहलस्थित विभागमा राहत प्याकिङका लागि छुट्याइएका सामग्रीमध्ये रुपन्देहीस्थित यशोदा फुड्स प्रालिको ‘करेन्ट चिप्स’ र बुटवलस्थित गिरिधारी फुड प्रडक्टको ‘भुजा’ म्याद सकिएको अवस्थामा भेटिएको हो। अनुगमन टोलीले ३० थान चिप्स र २१ बोरा भुजा वितरणमा रोक लगाउँदै ती सामग्रीलाई छुट्टै ‘एक्स्पायर्ड जोन’ मा राखी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
यस्तै, सामाखुसीस्थित प्रहरी तालिम केन्द्रमा दुई प्याकेट (१८ पिस) चोकोफन र पाँच किलोको एक प्याकेट चक्की आटा म्याद सकिएको अवस्थामा भेटिएको छ। सोही स्थानमा रहेको ५९ प्याकेट ‘अल इन वान’ दालमोठको उपभोग्य मिति सकिन केवल दुई दिन बाँकी रहेको पाइएपछि विभागले उक्त सामग्री पनि वितरण गर्न नदिई एक्स्पायर्ड जोनमा राख्न निर्देशन दिएको छ।
सामाखुसीकै राधा स्वामी सत्सङमा गरिएको अनुगमनका क्रममा २५ किलोको ‘जयश्री उसिना चामल’ को एक बोरा समेत म्याद सकिएको अवस्थामा फेला परेको विभागले जनाएको छ।
विभागका अनुसार राहतजस्तो संवेदनशील कार्यमा म्याद गुज्रेका खाद्य सामग्री प्रयोग गर्दा विपद्बाट प्रभावित नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्