काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।
२८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन् । उनी मध्यक्रममा ब्याटिङ गर्दै तीव्र गतिमा रन बनाउन सक्ने क्षमता राख्छन् ।
रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीयमा उनले ८७३ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन जोडेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ८४ रन हो ।
सबैखाले टी–२० क्रिकेटमा रदरफोर्डले २८३ खेलमा ५ हजार ९० रन बनाएका छन् । उनले यस प्रारूपमा ३२४ छक्का प्रहार गरेका छन्। उनको टी–२० ब्याटिङ स्ट्राइक रेट १४२.०५ छ ।
फ्रेन्चाइज क्रिकेटमा रदरफोर्डले सीपीएल, इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिग, आईएलटी–२० र मेजर लिग क्रिकेट खेलेका छन् । उनी सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले सीपीएल उपाधि जित्दा टोलीमा थिए भने सन् २०२०–२१ मा कराँची किङ्सबाट पीएसएल उपाधि जितेका थिए ।
आईपीएलमा रदरफोर्डले सन् २०२५ मा गुजरात टाइटन्सबाट १३ खेल खेल्दै २९१ रन बनाएका थिए । त्यसअघि उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबाट पनि खेलेका थिए । मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्ससँग उपाधि जिते पनि ती सिजनमा उनले खेल्ने अवसर पाएका थिएनन् ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ र अलराउन्ड क्षमतामा थप बल पुग्ने बताए ।
‘शेरफन रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीलाई सुदूरपश्चिम रोयल्समा आबद्ध गर्न पाउँदा हामी उत्साहित छौं । उहाँको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवले टोलीलाई बलियो बनाउने विश्वास छ । एनपीएलमा उहाँको उपस्थितिले समर्थकलाई पनि उत्साहित बनाउनेछ। यस सिजन टोलीको लक्ष्यमा उहाँको योगदान महत्वपूर्ण हुने अपेक्षा गरेका छौं,’ खड्काले भने ।
रदरफोर्डले पनि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न पाउँदा उत्साहित रहेको बताएका छन् । उनले नेपालमा खेल्न र टोलीका लागि योगदान दिन आफू उत्सुक रहेको बताए ।
‘सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा म निकै उत्साहित छु । एनपीएलमा खेल्ने र नेपाली समर्थकका अगाडि आफ्नो क्षमता देखाउने अवसरको प्रतीक्षामा छु । टोलीसँग मिलेर राम्रो प्रदर्शन गर्ने र समर्थकलाई रोमाञ्चक क्रिकेट दिने मेरो लक्ष्य छ,’ रदरफोर्डले भने ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्