Skip to content

श्रवण मुकारुङको ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार

nmb bank inside

काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार उपन्यास ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदान गरिएको छ ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले आज मुकारुङलाई उक्त पुरस्कार प्रदान गरेको हो। 

प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीका १५ र संक्षिप्त सूचीका पाँच कृतिबाट मूल्यांकन समितिले ‘सलह’लाई छनोट गरेको थियो।

सार्वजनिक भएको करिब छ महिनामै तेस्रो संस्करण प्रकाशित भएको उपन्यास ‘सलह’ले नेपालसँगै भारतका नेपालीभाषी पाठकमाझ पनि राम्रो प्रतिक्रिया पाएको छ । 

भारतको सिलिगुडीस्थित बुक आन्टबाट नेपाली भाषामा प्रकाशित उपन्यास दार्जिलिङ, सिक्किम र आसामका पाठकसम्म पुगेको छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा लेखक मुकारुङले उपन्यासमा मुख्यतः निम्न वर्गीय महिलाको जीवनकथा समेटिएको छ। गाउँबाट सहर आउँदा एक महिलाले भोग्ने सुखदुःख, संघर्ष र जीवनयात्राका अप्ठ्यारालाई उपन्यासमा प्रस्तुत गरिएको उनले बताए।

‘यो मेरो जीवनको उत्तरार्धमा लेखेको, अलि बढी मेहनत गरेर तयार पारेको उपन्यास हो। यसमा मूलतः एउटा निम्न वर्गीय नारीको जीवनकथा छ। गाउँबाट सहर आउँदा उसले भोग्ने सुखदुःख र जीवनयात्रामा आउने अप्ठ्याराहरूलाई समेटेको छु,’ मुकारुङले भने।

उपन्यासमा ‘सलह’लाई रूपक र प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। सलहले बालीमा पु¥याउने क्षतिलाई आधार बनाएर लेखकले समाजका सामान्य मानिस, विशेषगरी सामाजिक र आर्थिक रूपमा पछाडि पारिएका वर्गको अवस्था चित्रण गरेका छन्।

‘सलहलाई मैले रूपक र प्रतीकका रूपमा ल्याएको हुँ। काव्यात्मक अर्थमा यसले आम जनताको, विशेषगरी समाजको तल्लो तहमा रहेका मानिसहरूको प्रतिनिधित्व गर्छ,’ उनले भने।

मुकारुङका अनुसार उपन्यासलाई नारीवादी दृष्टिकोणबाट पनि पढ्न सकिन्छ। समाजमा ओझेलमा परेका र आवाज कम सुनिएका मानिसको जीवन तथा संघर्षलाई उपन्यासले समेटेको उनको भनाइ छ ।

छ महिनामै तेस्रो संस्करण प्रकाशित हुनुलाई लेखकले पाठकको माया र कृतिप्रतिको रुचिका रूपमा लिएका छन्। पाठकसँगै विषयविज्ञ र समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको उनले बताए ।

‘छ महिनामै तेस्रो संस्करण आउनु राम्रो कुरा हो। पाठकहरूले यसलाई असाध्यै माया गर्नुभएको छ। विषयविज्ञ र समीक्षकहरूले पनि कृतिको प्रशंसा गर्नुभएको छ,’ मुकारुङले भने।

यस वर्षको पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेसँगै उपन्यास ‘सलह’ थप चर्चामा आएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्