Skip to content

एनपीएलले बढायो होटलहरुको आर्थिक कारोबार, खेल पर्यटन विस्तारको अबसर

nmb bank inside

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ ।

यसवर्षको एनपिएलमा नेपाल क्रिेकट संघ (क्यान)ले प्रायोजन र टिकट बिक्रि लगायत स्रोतबाट १ अर्ब ५० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । यति मात्र नभइ आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यको बसोबासदेखि खेल हेर्न आउने दर्शकको आवागमनसम्मले होटल, रेस्टुरेन्ट र यातायात व्यवसायमा समेत कारोबार बढाएको हो ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार एनपीएलका आठवटै फ्रेन्चाइज टोली काठमाडौंका विभिन्न पाँचतारे होटलमा बसेका छन् । यसले होटलको व्यापार बढाउनुका साथै नेपालमा खेल पर्यटन विस्तारको सम्भावना पनि देखाएको छ ।

‘आठवटा फ्रेन्चाइज टोलीका सदस्यहरू ठूला पाँच तारे होटलमा बसेका छन् । यसले होटलको व्यापार बढाएको छ । टोलीका सदस्यबाहेक खेल हेर्न आउने दर्शकले पनि होटलमा बस्ने, खाने र यातायात प्रयोग गर्ने भएकाले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्छ,’ शाहले भने ।

उनका अनुसार एनपीएलले तत्कालीन रूपमा होटल व्यवसायमा कारोबार बढाउनुका साथै अन्तरराष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने अवसरसमेत दिएको छ । प्रतियोगिता टेलिभिजनमार्फत अन्तरराष्ट्रिय दर्शकमाझ पुगिरहेकाले त्यसलाई नेपालको पर्यटन प्रचारसँग जोड्न सके दीर्घकालीन लाभ लिन सकिने उनको भनाइ छ ।

शाहले एनपीएललाई खेल पर्यटनको माध्यम बनाउने हो भने होटल व्यवसायी, नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र नेपाल क्रिकेट संघले संयुक्त योजना बनाएर अघि बढ्नुपर्ने बताए । अन्तरराष्ट्रिय क्रिकेटमा नेपालको उपस्थिति र विदेशी खेलाडीको सहभागितालाई पर्यटन प्रवद्र्धनमा उपयोग गर्न सके थप पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ छ ।

‘हामीसँग विश्वस्तरीय होटल छन् र निजी क्षेत्र लगानी गर्न तयार छ । अब सरकार, पर्यटन बोर्ड, क्रिकेट संघ र होटल व्यवसायी मिलेर योजना बनाउनुपर्छ । राम्रो योजना बनाउन सके अहिलेको आर्थिक प्रभावलाई अझ बढाउन सकिन्छ,’ उनले भने ।

एनपीएलको प्रभाव ठूला होटलमा मात्र सीमित छैन । खेल हेर्न कीर्तिपुर पुग्ने दर्शकका कारण मैदान आसपासका खाजा पसल तथा अन्य साना व्यवसायमा पनि कारोबार बढ्ने अवसर सिर्जना भएको छ । प्रतियोगिताका खेल हेर्न विभिन्न फ्रेन्चाइजका समर्थक आउने क्रमले स्थानीय क्षेत्रमा खानेकुरा र पेय पदार्थको माग बढाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले पनि एनपीएल जस्ता खेलकुद गतिविधिले युवा वर्गलाई उत्साहित बनाउनुका साथै निजी क्षेत्रको बजार चलायमान बनाउन र पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताएका छन् । यस्ता प्रतियोगितालाई निरन्तरता दिन सके होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा आर्थिक गतिविधि बढ्ने उनको भनाइ छ ।

 

‘यस्ता गतिविधिले आर्थिक क्षेत्रलाई बलियो बनाउन सहयोग गर्छन् । बजार चलायमान हुन्छ र खेलकुद क्षेत्रमा युवाको उत्साह बढ्छ,’ शर्माले भने, ‘तर एकपटक प्रतियोगिता गरेर रोकिनु हुँदैन । नियमित रूपमा यस्ता खेलकुद गतिविधि भइरहनुपर्छ ।’

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको एनपीएलले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा कारोबार बढाउने अवसर सिर्जना गरेको छ । आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक तथा अन्य सदस्यको बसोबास र खेल हेर्न आउने दर्शकको आवागमनले होटल, रेस्टुरेन्ट तथा यातायात व्यवसायमा आर्थिक गतिविधि बढाएको हो ।

शर्माका अनुसार एनपीएलले खेलकुदमा रुचि राख्ने दर्शकलाई आकर्षित गर्नुका साथै सीमावर्ती क्षेत्रबाट समेत मानिसको आवागमन बढाउन सक्छ । यसले पर्यटन र स्थानीय व्यवसायमा सकारात्मक प्रभाव पार्ने उनको बुझाइ छ । ‘खेलकुदप्रति रुचि राख्ने मानिसको जमात बढ्छ । सीमावर्ती क्षेत्रका मानिस पनि आकर्षित हुन सक्छन्। यसले पर्यटनलाई समेत प्रभाव पार्छ,’ उनले भने ।

यस्तै, त्रिवि क्रिकेट मैदानबाहिर एनपीएल अवधिभरका लागि खाजा पसल सञ्चालन गरिरहेका स्थानीय होटल व्यवसायी नरेन्द्र कोजुका अनुसार खेल हुने दिन दर्शकको आवागमनले व्यापार गर्ने अवसर बढाएको छ । सामान्य अवस्थामा भन्दा प्रतियोगिताका कारण मैदानमा केन्द्रित हुने भीडले स्थानीय व्यवसायलाई ग्राहकसम्म पुग्ने अवसर दिएको उनको भनाइ छ ।

एनपीएलमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, जनकपुर बोल्टस र बिराटनगर किंग्सगरी आठ टोली सहभागि छन् । विभिन्न क्षेत्रका टोली सहभागी भएकाले तिनका समर्थक काठमाडौं आउने क्रमले पनि स्थानीय व्यापारमा प्रभाव पार्ने सम्भावना छ । दर्शकको आवागमनले होटल तथा रेस्टुरेन्टसँगै सार्वजनिक यातायात र राइड शेयरिङ सेवाको माग बढाउन सक्ने विश्वास गरिएको छ ।

खेल पर्यटनको दीर्घकालीन सम्भावना

होटलसंघका अध्यक्ष शाहले एनपीएलबाट होटल व्यवसायमा कति प्रतिशत कारोबार वृद्धि भयो भन्ने यकिन तथ्यांक दिन नसकिने बताए । तर, प्रतियोगिताले सिर्जना गरेको आर्थिक गतिविधिलाई व्यवस्थित रूपमा विस्तार गर्न सके यसको लाभ बढाउन सकिने उनको भनाइ छ ।

उनका अनुसार अन्तरराष्ट्रिय खेल प्रतियोगितालाई पर्यटन प्याकेज, होटल सेवा र नेपालको पर्यटकीय गन्तव्यसँग जोड्न सके एनपीएल नियमित खेल प्रतियोगिताभन्दा बाहिर पनि आर्थिक अवसर सिर्जना गर्ने माध्यम बन्न सक्छ । त्यसका लागि प्रतियोगिताको प्रचारसँगै विदेशी समर्थकलाई आकर्षित गर्ने र उनीहरूको बसाइ अवधि बढाउने रणनीति आवश्यक छ ।

एनपीएलले होटल तथा स्थानीय व्यवसायमा तत्कालीन कारोबार बढाउने अवसर दिएको भए पनि त्यसलाई दीर्घकालीन खेल पर्यटनमा रूपान्तरण गर्न सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक देखिएको छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्