बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुबाहक सवारी सञ्चालनमा समयसीमा
काठमाडौं । काठमाडौंको बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुबाहक सार्वजनिक सवारीसाधन सञ्चालनमा समयसीमा निर्धारण गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त सडक खण्डमा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै नयाँ समयतालिका निर्धारण गरेको हो।
कार्यालयले जारी गरेको सूचनाअनुसार काठमाडौंको बल्खुबाट हेटौंडा जाने यात्रुबाहक सार्वजनिक सवारीसाधन बिहान ५ बजेपछि मात्र सञ्चालन गर्न पाइनेछ। त्यस्तै, बेलुका ८ बजेसम्ममा त्यस्ता सवारीसाधन फर्पिङ प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ।
प्रशासनका अनुसार साँघुरा सडक, भिरालो तथा घुम्ती सडक, तीव्र गति, चालकको लापरबाही, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था र चालकको अनिद्रा तथा अत्यधिक तनावका कारण उक्त सडक खण्डमा गम्भीर दुर्घटना दोहोरिने गरेका छन्।
मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोसमेत प्राप्त भएको कार्यालयले जनाएको छ।
सूचनामा यात्रुबाहक सवारीसाधन सञ्चालन गर्नुअघि तिनको अवस्था पूर्ण रूपमा जाँच गर्नुपर्ने उल्लेख छ। साथै काठमाडौं जिल्लाभित्र उक्त रुटमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीले प्रत्येक यात्रुबाहक सवारीसाधन अनिवार्य रूपमा कडाइका साथ जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त व्यवस्था लागू गरिएको जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्