कटुको संकलन गर्न हुम्ला पुगेका दुई जना अझै सम्पर्कविहीन
हेमन्त केसी, नेपाल न्यूज बैंक
सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनको मिमि पाटनमा कटुको जडीबुटी संकलन गर्न गएका मुगुका स्थानीयमध्ये दुई जना अझै सम्पर्कविहीन छन् । १३ जनाको समूहमा गएका उनीहरूमध्ये सात जना सम्पर्कमा आएका छन् भने एक जनाको हिउँमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीन हुनेमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ का ३६ वर्षीय ललितजंग बढुवाल र २६ वर्षीय अंख रोकाय रहेका छन् । उनीहरू अझै सम्पर्कमा नआएको जानकारी गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय मुगुलाई गराएको छ ।
मुगुम कार्मारोङ गाउँपालिका–९ पापुका २२ वर्षीय गणेश बुढाको भने हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी रविराज थपलियाले जानकारी दिए ।
जडीबुटी संकलन गर्न नदिएपछि फर्कँदा घटना
प्रहरीका अनुसार भदौ २८ गते मुगुम कार्मारोङ–९ पापु र छाइलका १३ जना स्थानीय कटुको संकलनका लागि हुम्लाको बागेढुंगा सामुदायिक वन पुगेका थिए । उनीहरू जडीबुटी संकलन गरिरहेका बेला सामुदायिक वन उपभोक्ता समितिले संकलन गर्न नदिएपछि फर्किएका थिए ।
फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र त्यहाँ भारी हिमपात भइरहेकाले खोजी तथा उद्धारमा कठिनाइ भएको डिएसपी थपलियाले बताए ।
‘अग्लो हिमाल काटेर आउनुपर्ने र हिउँ धेरै भएकाले सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘हिउँबाट भाग्ने क्रममा एक जनाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।’
१० जना सम्पर्कमा, दुईको खोजी जारी
प्रहरीका अनुसार पापुका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा र ३५ वर्षीय जयबहादुर बढुवाल सम्पर्कमा आएका छन् । यस्तै, छाइलका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय पनि सम्पर्कमा आएका छन् ।
पापुका ३६ वर्षीय बच्चा बुढा, ३४ वर्षीय प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा आइतबार बिहान नै सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएको जानकारी पाए लगत्तै मुगु र हुम्लातर्फबाट प्रहरी परिचालन गरिएको डिएसपी थपलियाले बताए। मिमि क्षेत्र हुम्ला र मुगु दुवै जिल्लाको सीमा क्षेत्रमा पर्ने भएकाले घटनाको वास्तविक अवस्था बुझ्न दुवैतर्फका सुरक्षा निकायले खोजी तथा अनुसन्धान गरिरहेका छन् ।
उच्च हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेकाले सम्पर्कविहीन दुई जनाको खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्