झापामा चर्को आवाजमा डिजे बजाउन रोक, साम्प्रदायिक सद्भाव भड्काए कडा कारबाही हुने
झापा । जिल्ला प्रशासन कार्यालय झापाले धार्मिक तथा सांस्कृतिक पर्व, र्याली, शोभायात्रा र मूर्ति विसर्जन जस्ता कार्यक्रममा चर्को आवाजमा डिजे बजाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सार्वजनिक शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले एक सूचना जारी गर्दै प्रशासनको निर्देशन अटेरी गरी चर्को आवाजमा डिजे बजाइएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन् । सूचनाअनुसार नियम उल्लंघन भएमा कार्यक्रमका आयोजक र सहभागी मात्र नभई डिजे भाडामा दिने साउन्ड सिस्टम व्यवसायी र ढुवानीमा प्रयोग हुने सवारीसाधनका धनीलाई समेत कारबाहीको दायरामा ल्याइनेछ । प्रजिअ पोखरेलले सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा प्रयोग हुने डिजे तत्काल नियन्त्रणमा लिई सञ्चालकलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिइसकेका छन् ।
प्रशासनले पर्व तथा उत्सव मनाउने क्रममा अन्य धर्मावलम्बीका आस्थाका केन्द्र (मन्दिर, मस्जिद, मदरसा, चर्च, गुम्बा आदि) अगाडि नियोजित रूपमा जुलुस रोक्ने, होहल्ला गर्ने, अबिर लगायतका सामग्री फ्याँक्ने तथा उत्तेजक प्रदर्शन गर्ने जस्ता कार्य नगर्न सचेत गराएको छ । मूर्ति विसर्जन र शोभायात्राका क्रममा तोकिएको मार्ग र समयको पूर्ण पालना गर्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ ।
त्यसैगरी, यस्ता धार्मिक तथा सांस्कृतिक जुलुसमा मादक पदार्थ सेवन गरी सहभागी नहुन र सामाजिक सञ्जालमा भ्रामक एवं साम्प्रदायिक सद्भाव भड्काउने खालका सन्देश नफैलाउन पनि प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । पर्व मनाउने नाममा अन्य समुदायको आस्थामा चोट पुर्याउने र शान्ति सुरक्षामा खलल पुर्याउने कार्य कानुनतः दण्डनीय हुने सूचनामा स्मरण गराइएको छ ।
बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषता बोकेको झापामा सदियौँदेखि कायम रहँदै आएको आपसी सद्भाव र सांस्कृतिक सहअस्तित्व जोगाउनु सबैको साझा दायित्व भएको प्रशासनको भनाइ छ । जिल्लाको शान्ति सुव्यवस्था कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक अगुवा, व्यवसायी, सञ्चारकर्मी तथा आम नागरिकमा जिल्ला प्रशासन कार्यालयले सहयोगको अपिलसमेत गरेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्