Skip to content

ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल

nmb bank inside

ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल

निरोज कोइराला, नेपाल न्यूज बैंक

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा पनि ढिकी जाँतो बिस्थापित हुँदै जान थालेको छ । 

ग्रामीण बस्तीमा समेत विद्युतको पहुँच पुगेपछि ढिकी जाँतोको बिकल्प साना मिल बनेको हो । साना मिलका कारण ठूला कुटानी मिल समेत बिस्थापित हुन थालेको छ ।

अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँगाउँमा विद्युतको पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् । 

अनुदानमा विभिन्न सरकारी निकायबाट साना मिल वितरण हुन थालेपछि घरघरमा मिल राख्न सुरु गरिएको छ । मिल सञ्चालन गर्दै आउनु भएका निरकुमार प्रधानले भने, ‘गाउँघरबाट ढिकी, जाँतो त विस्थापित हुँदै गयो । अहिले त साना मिलका कारण ठूला मिलसमेत विस्थापित हुँदै गएका छन् ।’

विद्युत गाउँगाउँमा पुगेसँगै घरघरमा साना मिल जडान हुन थालेका उनले बताए । 

घर परिवारमा ठूला मिलसम्म धान, मकै कोदो लिएर कुटाउन जानेको संख्या पनि कमी हुँदै गएकाले पनि घरघरमै साना मिल राख्न थालिएको साना मिल सप्लायर्स बाजिम मगरले बताए ।

उनले भने, ‘अहिले मेरोमा साना मिल खरिद गर्नेको सङ्ख्या बढदै गएको छ । ४०—४५ हजारमै साना मिल खरिद गर्नसक्ने भएकाले यसतर्फ आर्कषण बढेको हो ।’ 

सानो मिल आएपछि समय र श्रम दुवैको बचत भएको स्थानीय नवीन प्रधानले बताए । साना मिलले स्थानीयवासीलाई सहजता थपिएको उनको भनाइ थियो । 

‘आफूलाई आवश्यक पर्ने थोरै सामग्री घरमै कुट्न सकिने भएकाले यो मिल प्रभावकारी देखिएको छ । ठुला मिलमा कुटानी पिसानीका लागि आउनेको सङ्ख्या घटदै जान थालेपछि आफूले लामो समय सञ्चालन गरेको मिल बन्द गरेको अत्तर राइस मिलका सञ्चालक जीवन श्रेष्ठले बताए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्