Skip to content

अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल

nmb bank inside

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बन्दै एनपीएल

काठमाडौं । नेपालका अग्रज खेल पत्रकारहरुले सोमबारबाट कीर्तिपुरमा सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड बन्दै गएको प्रतिक्रिया दिएका छन् । 

एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ ।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक १० देखि मङ्सिर ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ । 

तेस्रो संस्करणसम्म आइपुग्दा एनपीएलको प्राविधिक पक्ष, अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता र व्यावसायिक विस्तारले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गरेको उनीहरूको भनाइ छ ।

मुकुन्द दाहाल

अग्रज खेल पत्रकार मुकुन्द दाहालले एनपीएलले नेपाली क्रिकेटको भविष्य र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सम्भावना उजागर गरेको बताए । उनका अनुसार एनपीएलले विश्व क्रिकेटको ध्यान नेपालतर्फ आकर्षित गर्नुका साथै देशको अर्थतन्त्रमा समेत प्रभाव पार्ने सम्भावना देखाएको छ ।

वि.स. २०५२÷५३ सालतिर आफूले खेलकुद पत्रकारिता सुरु गर्दा टुँडिखेलमा क्रिकेट प्रतियोगिताहरू आयोजना भएको र त्यतिबेला रामेश्वर भट्टराई मेमोरियल क्रिकेट प्रतियोगिता चर्चित रहेको उनले सुनाए । 

उक्त प्रतियोगिताको एक संस्करणको फाइनल दशरथ रंगशालामा आयोजना गरिएको स्मरण गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र एसियाली क्रिकेट परिषद् (एसीसी) का पदाधिकारीलाई नेपालको क्रिकेटको सम्भावना देखाउने अवसर बनेको बताए ।

उनले भने, ‘त्यसबेला रामेश्वर भट्टराई मेमोरियल क्रिकेटको एउटा संस्करणको फाइनल नै दशरथ रंगशालामा भएको थियो । त्यहाँ आईसीसी र एसीसीबाट आएका पदाधिकारीहरूले हेरेपछि नेपाली क्रिकेट र नेपालमा क्रिकेटप्रतिको आकर्षण र सम्भावना देखेर उनीहरु फर्किएका थिए । फर्कनेबित्तिकै नेपालले एसोसिएट राष्ट्रको मान्यता पाएको थियो ।’

उनका अनुसार त्यसपछि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र प्रतियोगिता आयोजनाले नेपाली क्रिकेटलाई क्रमशः माथि उठाउन सहयोग गरेको छ । अहिले एनपीएल त्यसैको आकर्षक रूपमा विकास भइरहेको उनको भनाइ छ ।

‘त्यसबेलाकै आकर्षक रूप भनेको अहिलेको एनपीएल हो । अहिले एनपीएलले विश्वको ध्यान तानेको छ । नेपालको क्रिकेटको हैसियत, क्रिकेटको भविष्य र नेपालको क्रिकेटको आउने दिनहरूको एनपीएलले राम्ररी उजागर गरेको छ,’ उनले भने । 

एनपीएलले सिंगो देशको ध्यान आकर्षित गर्नुका साथै अर्थतन्त्रमा समेत प्रभाव पार्ने गरी विकास भइरहेको उनले बताए । दक्षिण एसियाका अन्य राष्ट्रले क्रिकेटमा हासिल गरेको उचाइमा नेपाल पनि पुग्न सक्ने आधार एनपीएलले तयार गरिरहेको उनको भनाइ छ ।

उनले भने, ‘यतिबेला एनपीएलले विश्वको ध्यान नेपालमा तानेको छ । क्रिकेटको हैसियत, भविष्य र नेपालको क्रिकेटको आउने दिनहरुलाई एनपीएलले राम्ररी उजागर गरेको छ । सिंगो नेपालको ध्यान मात्र होइन नेपालको अर्थतन्त्रमा नै प्रभाव पार्नेगरी एनपीएल अगाडि बढिरहेको छ । दक्षिण एसियामा अरु राष्ट्रले जुन हाइट बनाएका छन् क्रिकेटले नै हो । नेपाल दक्षिण एसियाको पछिल्लो पाहुना हो । क्रिकेटमार्फत नेपालले चाँडै नै त्यो लक्ष्य प्राप्त गर्न सक्ने आधार भनेको यही एनपीएल हो ।’

प्रकाश तिम्सिना

अर्का अग्रज खेल पत्रकार प्रकाश तिम्सिनाले एनपीएल नेपाली क्रिकेटको मात्रै नभइ समग्र नेपाली खेलकुदको ब्रान्ड बन्ने क्रममा रहेको बताए । उनका अनुसार तेस्रो संस्करणसम्म आइपुग्दा प्रतियोगिता प्राविधिक रूपमा परिष्कृत हुनुका साथै अन्तर्राष्ट्रिय खेलाडीको सहभागिताले यसको दायरा विस्तार भएको छ ।

तिम्सिनाले एनपीएलले कर्पोरेट क्षेत्र, उद्योगी तथा व्यवसायीलाई खेलकुदमा आकर्षित गर्ने संयन्त्रसमेत तयार गरेको बताए । यसका लागि नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्व र पहल महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

उनले भने, ‘नेपाल प्रिमियर लिग नेपाली क्रिकेटको मात्र होइन नेपाली स्पोट्र्सको एउटा ब्रान्ड बन्ने क्रममा छ । यसको सुरुवातदेखि अहिलेसम्म हेर्दा तेस्रो संस्करणमा आइपुग्दा प्राविधिक वा अन्य हिसाबले पनि बृहत् भएको छ । अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थितिका हिसाबले पनि बृहत् भएको छ ।’

तिम्सिनाका अनुसार एनपीएलले व्यावसायिक टी–२० क्रिकेट नेपालमा पनि सफलतापूर्वक सञ्चालन गर्न सकिन्छ र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डका रूपमा स्थापित गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ । प्रतियोगिताको पहिलो संस्करणदेखि नै सरकारले फ्लडलाइट र दर्शकका लागि सिट व्यवस्थापनलगायत पूर्वाधारमा सहयोग गरेको उनले बताए ।

उनले भने, ‘पहिलो वर्ष हामीले हे¥यौँ भने एनपीएलकै लागि सरकारले फ्लडलाइट र सिटहरू राखिदिने काम ग¥यो । त्यसलाई अन्तर्राष्ट्रिय स्तरको एउटा फ्लेभर दिने काम सरकारले पनि गरेको छ । संघले जे–जे प्रस्ताव गरेको छ, ती कुराहरूलाई सरकारले पनि सहयोग गरेको छ ।’

निरन्जन राजवंशी

यसैगरी अग्रज खेल पत्रकार निरन्जन राजवंशी एनपीएल फ्रेन्चाइज क्रिकेट लिग भएपनि यसको प्रभाव खेलकुदमा मात्र सीमित नरहेको बताए । विश्वका क्रिकेट संस्कार भएका मुलुकमा फ्रेन्चाइज क्रिकेटको विकास भएजस्तै नेपालमा पनि एनपीएल छोटो समयमै सफल र प्रभावशाली प्रतियोगिताका रूपमा स्थापित भएको बताए । 

उनले भने, ‘जसरी इङ्लिस प्रिमियर लिग (इपीएल)ले लन्डन र युरोपलाई चिनाउँछ, त्यसरी नै एनपीएलले नेपाललाई विश्वमा एउटा बलियो ब्रान्डको रूपमा चिनाएको छ । सगरमाथा र बुद्धको जन्मस्थल भनेजस्तै एनपीएल नेपालको नयाँ परिचय बनेको छ । विश्वका टप खेलाडीहरू यहाँ आएर खेल्दा विश्वभर चासो बढ्यो, जसले नेपालको पर्यटन र फ्री पब्लिसिटीमा ठुलो टेवा पु¥यायो ।’

उनले एनपीएलको तेस्रो संस्करणसम्मको यात्रा र प्रभावबारे विश्लेषण गर्दै राजवंशीले व्यावसायिक फ्रन्चाइज क्रिकेट नेपालमा अत्यन्तै सफल भएको बताए ।

राजवंशीका अनुसार एनपीएलले खेलकुदलाई व्यावसायिक ‘स्पोट्र्स बिजनेस’ बनाउँदै देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको छ । विश्वचर्चित खेलाडीहरूको सहभागिताले विदेशी समर्थक र मिडियामाझ नेपालको निःशुल्क प्रचार हुनुका साथै खेल पर्यटन प्रवद्र्धनमा मद्दत पुगेको छ ।

एनपीएलले नेपाली खेलकुदमा आर्थिक क्रान्ति नै ल्याएको राजवंशीले बताए । रंगशालामा दर्शकको बाक्लो उपस्थिति र क्रिकेटको क्रेजसँगै प्रायोजकहरूको आकर्षण ह्वात्तै बढेको उनले बताए । 

उनले भने, ‘अहिले नेपाली खेलकुदमा प्रायोजकहरू सबैभन्दा बढी खनिएको र खेलाडीहरूले सर्वाधिक पैसा कमाउने माध्यम नै एनपीएल बनेको छ । यसले नेपालमा क्रिकेट खेलेरै बाँच्न सकिन्छ भन्ने आधार तय गरेको छ ।’

दर्शकको उत्साह, प्रायोजकको ओइरो र खेलाडीको उच्च आम्दानीका कारण एनपिएल नेपाली खेलकुद इतिहासकै सर्वाधिक सफल र व्यावसायिक प्रतियोगिताको रूपमा स्थापित भएको उनले बताए ।

अजय फुयाँल

यसैगरी, अग्रज खेल पत्रकार अजय फुयाँलले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटलाई व्यावसायिक बाटोमा तीव्र गतिमा अघि बढाइरहेको बताए । उनले एनपीएलको तीव्र विस्तारसँगै आर्थिक पारदर्शिता र कानुनी पक्षमा देखिएका चुनौतीलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

फुयाँलका अनुसार पछिल्लो दुई वर्षयता एनपीएल नेपाली क्रिकेटलाई व्यावसायिक बनाउने महत्वपूर्ण माध्यमका रूपमा विकास भइरहेको छ । यसले नेपाली क्रिकेटलाई विश्वस्तरीय मञ्चमा प्रस्तुत गर्ने राम्रो प्लेटफर्मका रूपमा समेत आफूलाई स्थापित गर्दै गएको उनले बताए ।

उनले एनपीएल तीव्र गतिमा अगाडि बढिरहँदा यसको व्यवस्थापनमा देखिने आर्थिक तथा कानुनी पक्षलाई बेवास्ता गर्न नहुने बताए ।

उनले भने, ‘एनपीएलले नेपाली क्रिकेटलाई एउटा व्यावसायिक खालको बाटोमा स्पिडमा अगाडि बढाइरहेको छ । तर यति धेरै स्पिडमा उकालो लागिरहँदा समस्या नआओस् भन्ने चिन्ता पनि छ ।’

एनपीएलसँग सम्बन्धित आर्थिक पारदर्शिताका विषय तथा कानुनी प्रश्नहरू समेत उठिरहेको उल्लेख गर्दै उनले यस्ता विषयलाई समयमै सम्बोधन गरेर प्रतियोगितालाई अघि बढाउनुपर्ने बताए ।

उनका अनुसार एनपीएलको विकासलाई रोक्नेभन्दा पनि यससँगै देखिएका आर्थिक, वित्तीय पारदर्शिता र कानुनी चुनौतीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न आवश्यक छ । त्यसो गर्नसके एनपीएलले नेपाली क्रिकेटको व्यावसायिक विकासलाई थप गति दिने उनले बताए । 

फुयाँलले एनपीएललाई व्यवस्थित र पारदर्शी रूपमा अघि बढाउन सके नेपाली क्रिकेटलाई विश्वस्तरमा प्रतिनिधित्व गर्ने महत्वपूर्ण माध्यम बन्न सक्ने बताए।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्