काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत करिब ९० प्रतिनिधि सभा क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ । उक्त समूहका नेता किरणराज शर्मा पौड्यालका अनुसार हालसम्म ९० क्षेत्रको क्षेत्रीय र नौं जिल्लाको जिल्ला अधिवेशन पनि सकिएको छ ।
पौडेलले भने,‘कार्तिक १५ गते जिल्ला अधिवेशन छ त्यसअघि नै एक मात्र निर्वाचन क्षेत्र रहेका नौं जिल्लाका अधिवेशन सकिएको छ र नयाँ नेतृत्व आइसकेको छ । १५ गतेसम्ममा लगभग सबै जिल्लाको अधिवेशन सकिने छ । मंसिर ४ गते सातै प्रदेशको अधिवेशन पनि हुनेछ ।’
१५ औं महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरिएको र सो अनुसार निर्णय भएको तालिका अनुसार आफूहरुले काम गरिरहेको उनले जानकारी दिए ।
जस अनुसार वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश सभा÷प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव गरिएको थियो ।
त्यस्तै, जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते तोकिएको छ ।
युवा नेता भरत खड्काका अनुसार उत्साहका साथ देशभर अधिवेशन भइरहेको छ । ‘अधिवेशनमा धेरैजसो युवा पुस्ताका साथीहरु नेतृत्वमा आउनुभएको छ । अग्रजहरुलाई सम्मानजनक स्थान दिंदै कांग्रेसमा युवाहरुको आकर्षण देखिएको छ, तल्लो तहदेखिका अधिवेशनमा नवयुवाहरुको सहभागिता उत्साहजनक देखिनुलाई पार्टीमा नयाँ उर्जा देखिएको भान हुन्छ,’ उनले भने ।
गगन कुमार थापा नेतृत्वको संस्थापन पक्षले १५ औं महाधिवेशन सम्पन्न गरिसकेको छ । इतर पक्षले पनि छुट्टै महाधिवेशनको तयारीमा जुटेको हो ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि दुई भागमा विभाजित कांग्रेसको आधिकारिकता विवाद अझै सर्वोच्च अदालतमा विचाराधीन छ ।
विषेश महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले पाएको वैधतामाथि परीक्षण हुने भन्दै सर्वोच्च अदालतको पूर्ण इजलासले कांग्रेसको आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न निस्सा दिएपछि उत्साहित भएको इतर समूह नियमित महाधिवेशनमा जुटेको हो ।
केन्द्रीय निर्वाचन समिति संयोजक तोकेर महाधिवेशनको तयारी गरिरहेको उक्त समूहले चाँडै विभिन्न समितिहरु बनाउने भएको छ ।
निवर्तमान सभापति शेर बहादुर देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गरिहेको हो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्