Skip to content

बालबालिकालाई भिटामिन ‘ए’ किन आवश्यक छ ?

nmb bank inside

बालबालिकालाई भिटामिन ‘ए’ किन आवश्यक छ ?

बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउन र रतन्धो रोक्न भिटामिन ‘ए’ अपरिहार्य

मनिषा बस्नेत, नेपाल न्यूज बैंक 

काठमाडौं । सरकारले बालबालिकाको समग्र स्वास्थ्य सुरक्षा, पोषण सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ ।

अभियानअन्तर्गत कात्तिक १७ र १८ गते दुई दिन देशभरका ६ देखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका २० लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्यले अभियान सुरु गरेको हो । 

भिटामिन ‘ए’ किन आवश्यक ?

भिटामिन ‘ए’ बालबालिकाको शारीरिक वृद्धि, आँखाको स्वास्थ्य र समग्र रोग प्रतिरोधी प्रणाली (इम्युनिटी) का लागि अपरिहार्य सूक्ष्म पोषक तत्व हो । यसको कमी हुँदा बालबालिकामा दृष्टि कमजोरी हुने, आँखाको नानी सुक्खा हुने र अन्धोपन निम्त्याउने ‘रतन्धो’ (नाइट ब्लाइन्डनेस) को जोखिम उच्च रहन्छ । साथै, नियमित भिटामिन ‘ए’ सेवनले बालबालिकालाई झाडापखाला, निमोनिया तथा दादुराजस्ता सङ्क्रामक रोगहरू विरुद्ध लड्ने क्षमता प्रदान गर्छ । जुकाको औषधिले बालबालिकामा आन्द्राको परजीवी नियन्त्रण गरी रक्तअल्पता (एनिमिया) र कुपोषण हुनबाट जोगाउँछ ।

स्वास्थ्य स्वयंसेविका बबी महर्जनका अनुसार बालबालिकाको उमेरअनुसार निश्चित मात्रा मिलाएर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन्छ । ६ महिनादेखि १ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ आधा क्याप्सुल र १ वर्षदेखि ५ वर्ष मुनिकालाई पूरै एक क्याप्सुल खुवाइन्छ । त्यस्तै, १ देखि २ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि आधा चक्की र २ वर्ष माथिकालाई एक चक्की खुवाइने व्यवस्था छ । यसको कुनै नकारात्मक असर नहुने भएकाले ढुक्क भएर खुवाउन उनले अभिभावकहरूलाई आग्रह गरिन् ।

‘हरेक बार, खाना चार’ मा जोड

अभियानका क्रममा खोप केन्द्रहरूमा भिटामिन ‘ए’ र बालभिटा वितरणसँगै पोषणसम्बन्धी व्यावहारिक प्रदर्शनी (डेमो) समेत गरिएको छ । स्वयंसेविका महर्जनका अनुसार बालबालिकालाई क्याप्सुलका अतिरिक्त घरमै पाइने सन्तुलित आहार ‘हरेक बार, खाना चार’ नियमित खुवाउन आवश्यक छ ।

बालबालिकाको खानामा कार्बोहाइड्रेटका लागि चामल, मकै वा च्युरा; प्रोटिनका लागि गेडागुडी; पशुजन्य स्रोतबाट दूध, दही, घ्यू तथा अण्डा; र भिटामिनका लागि स्थानीय रूपमा पाइने हरियो सागपात, धनियाँ एवं पहेँला फलफूल (मेवा, अम्बा, केरा) अनिवार्य समावेश गर्नुपर्ने सन्देश केन्द्रमार्फत प्रवाह गरिएको छ । हाल बालबालिकाको पोषण र स्वास्थ्यप्रति अभिभावकहरूको चासो र उपस्थिति उल्लेख्य रूपमा बढेको स्वयंसेविकाहरू बताउँछन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार अभियान सञ्चालनका लागि देशभर आवश्यक औषधि ढुवानी भइसकेको छ ।

नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै शाखा प्रमुख थापाले भिटामिन ‘ए’ वितरण कार्यक्रम सफल बनाउन देशभर करिब ५१ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको जानकारी दिए । कार्यक्रमको अनुगमन तथा सहजीकरणका लागि करिब १० हजार स्वास्थ्यकर्मी र स्थानीय तहका जनप्रतिनिधिहरू समेत कार्यक्षेत्रमा खटिएका छन् ।

देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन भइरहेको यस कार्यक्रमका लागि बालबालिकाको सङ्ख्याका आधारमा आवश्यक आपूर्ति सुनिश्चित गरिएको छ । स्थानीय तहहरूले आफ्ना वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा पायक पर्ने सार्वजनिक स्थलहरूमा वितरण केन्द्र तोकेर सेवा प्रवाह गरिरहेका छन् । सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिक महिनामा यो राष्ट्रिय कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्