न्यायपालिकामाथि स्वार्थप्रेरित प्रहार अस्वीकार्य, राष्ट्रिय संस्था कमजोर हुँदा राज्यशक्ति खुम्चिन्छ : नैनसिंह महर
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकासहित राज्यका प्रमुख अङ्गहरूको स्वतन्त्रता र विश्वसनीयतामाथि आँच आउन नहुने बताएका छन् । राष्ट्रिय संस्थाहरू कमजोर बन्दै जाँदा समग्र राज्यशक्ति पतनको जोखिम रहने उल्लेख गर्दै उनले संस्थागत सुदृढीकरणमा जोड दिएका छन् ।
पछिल्ला दिनहरूमा न्यायपालिका तथा राज्यका अन्य निकायहरू ‘सेटिङ’ र विवादमा मुछिएको विषय बाहिर आएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता महरले यस्ता गतिविधिले गम्भीर प्रश्न खडा गरेको बताएका छन्। मुलुकका स्थायी संस्थाहरू कमजोर हुँदा समग्र राष्ट्रिय सामर्थ्य खुम्चिँदै गएको भन्दै उनले यस विषयमा गम्भीर राष्ट्रिय बहस र सचेतना आवश्यक रहेको औँल्याए ।
विधिको शासन र कानुनी राज्य लोकतन्त्रको प्राण भएको स्मरण गराउँदै महरले कुनै अमुक व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि सिङ्गो न्यायपालिकालाई बदनाम गर्ने षड्यन्त्र स्वीकार्य नहुने स्पष्ट पारे । यद्यपि, सार्वजनिक रूपमा उठेका गम्भीर सवालहरूलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै उनले यस्ता प्रकरणमा निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरे । संस्थाको गरिमा जोगाउनु र भित्र देखिएका विकृतिहरूको न्यायिक निरूपण गर्नु दुवै उत्तिकै महत्त्वपूर्ण लोकतान्त्रिक दायित्व भएको उनको ठहर छ ।
सरकार परिवर्तन भइरहने राजनीतिक प्रणालीमा केवल शक्तिशाली सरकार हुनु मात्र पर्याप्त नहुने उनको तर्क छ ।
‘सक्षम राज्य निर्माणका लागि बलिया, स्वतन्त्र र जवाफदेही स्थायी संस्था आवश्यक पर्छन्,’ महरले भनेका छन् । उनले राष्ट्रिय संस्थाहरूको कार्यक्षमता, आर्थिक समृद्धि तथा सचेत नागरिक नै देशको सफलताका मुख्य आधार भएको उल्लेख गरेका छन् ।
राजनीतिक स्थिरता, संस्थागत सुदृढीकरण र नागरिकको विश्वासले मात्र समृद्ध समाज, सामाजिक न्याय र राष्ट्रिय एकतालाई मजबुत बनाउन सक्ने भन्दै नेता महरले बलियो सरकार, सक्षम राज्य र समृद्ध राष्ट्र निर्माण नै अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्