Skip to content

भीमफेदीमा यात्रुवाहक ईभी हाइस दुर्घटना : १० जनाको मृत्यु, पाँच जना गम्भीर घाइते

nmb bank inside

भीमफेदीमा यात्रुवाहक ईभी हाइस दुर्घटना : १० जनाको मृत्यु, पाँच जना गम्भीर घाइते

५०० मिटर तल भिरमा खस्यो हाइस, एसपी श्यामबहादुर खत्रीको नेतृत्वमा प्रहरीसहित सुरक्षाकर्मी उद्धारमा खटिए

दिक्षाँन्स खड्का 

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा यात्रुवाहक विद्युतीय (ईभी) हाइस गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । 

बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् । त्यस्तै, पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई बालक र तीन पुरुष रहेका छन् । उद्धार गरिएका घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ ।

प्रहरीका अनुसार दुर्घटनाका बेला हाइसमा चालकसहित १४ देखि १५ जना सवार रहेको खुलेको छ । दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमान्डमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।

दुर्घटनाको गम्भीरतालाई मध्यनजर गर्दै उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल, कारागार सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहको कमान्डमा १० जनाको टोली परिचालन गरिएको थियो ।

त्यसैगरी, नेपाली सेनाको सेनानी आरोग्य गौतमको कमान्डमा ११ सदस्यीय टोली, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा १० सदस्यीय टोली र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्‍याङ, हेटौँडाबाट प्रहरी सहायक निरीक्षक जयप्रकाश यादवको कमान्डमा १० सदस्यीय थप टोली उद्धारमा खटिएको थियो ।

एसपी खत्री आफैँ घटनास्थलमा पुगेर उद्धारको नेतृत्वमा

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री आफैँ प्रहरी टोलीसहित घटनास्थल पुगेका थिए। उनले घटनास्थलमा उद्धार कार्यको नेतृत्व गर्दै प्रहरी परिचालन तथा उद्धार कार्यको समन्वय गरेका थिए ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरतर्फ पर्दछ। सडकबाट करिब ५०० मिटर तल गहिरो भिरमा गाडी खसेका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ । मृतक तथा घाइतेको विस्तृत पहिचान र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्