Skip to content

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका १२ जनाको सुन्दरपुरस्थित लखनदेही खोलामा सामूहिक अन्त्येष्टि गरिँदै

nmb bank inside

विश्वनाथ ठाकुर 

सर्लाही। मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १३ जनामध्ये १२ जनाको शव अन्त्येष्टिका लागि सुन्दरपुर ल्याइएको छ। उनीहरूको सुन्दरपुरस्थित लखनदेही खोलामा सामूहिक दाहसंस्कार गर्ने तयारी गरिएको छ।

मृतक १३ जनामध्ये सुन्दरपुरका १२ जनाको शव गाउँमा ल्याइएको हो भने सुन्दरपुरकै एक जना बासिन्दा, जो हाल सदरमुकाम मलङ्गवाको वडा नम्बर ४ मा बसोबास गर्दै आएका थिए, उनको शव भने मलङ्गवा–४ मै लगिएको जनाइएको छ। उनको अन्त्येष्टि पनि मलङ्गवामै गरिने बताइएको छ।

मृतकहरूको शव सुन्दरपुर ल्याइएसँगै रातिको समयमा पनि श्रद्धाञ्जली अर्पण गर्न स्थानीय तथा सर्वसाधारणको ठूलो भीड लागेको छ। आफन्तजन, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिले सुन्दरपुर शोकमग्न बनेको छ।

एकै गाउँका १२ जनाले एउटै दुर्घटनामा ज्यान गुमाएपछि सुन्दरपुर गाउँ मात्रै नभई सिंगो सर्लाही जिल्ला नै शोकमा डुबेको छ। मृतकका आफन्तजनको चित्कार, गाउँभरि छाएको सन्नाटा र शोकाकुल वातावरणले घटनाको पीडालाई थप हृदयविदारक बनाएको छ।

भीमफेदीमा भएको उक्त दुर्घटनाले सुन्दरपुरका धेरै परिवारमा अपूरणीय क्षति पुर्‍याएको छ। मृतकहरूप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न पुगेका स्थानीय तथा सर्वसाधारणले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिरहेका छन्।

सुन्दरपुरका १२ जनाको लखनदेही खोलामा सामूहिक अन्त्येष्टि गरिने तयारीसँगै यतिबेला सिंगो गाउँ शोकमा डुबेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्