आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने
मोहन जोशी, नेपाल न्यूज बैंक
धनगढी । निष्ठा, सद्भाव र प्रकृति पूजनको महान् पर्व छठको मुख्य दिन आज (षष्टि तिथि आइतबार) व्रतालुहले नदी वा ताल तलैया किनारमा गई अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर श्रद्धापूर्वक मनाउँदै छन् ।
चार दिनसम्म विधिपूर्वक मनाइने छठको तेस्रो तथा महत्त्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यको आराधना गर्ने परम्परा छ । छठ पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी स्थित त्रिनगर प्रहरी चौकीको मोहना नदी घाटलाई सरसफाइ गरी झिलिमिली बत्तीले सिँगारिएको छ ।
मोहना घाट छठ पर्व व्यवस्थापन समितिका सचिव सरोज कुमार यादवले घाट क्षेत्रमा पूजाका लागि आवश्यक मण्डप सजाउने, टेन्ट लगाउने, मञ्च व्यवस्थापन गर्ने, तथा आकर्षक झिलिमिली बत्ती जडान गर्ने लगायतका सबै पूर्वाधारका कार्यहरू सम्पन्न भइसकेको जानकारी दिए ।
नदी किनारको सरसफाइदेखि लिएर व्रतालुहरूलाई नदीसम्म पुग्न सहज होस् भनेर बाटो समेत सम्याइएको समितिले जनाएको छ । यस वर्ष मोहना घाटमा करिब तीन सय व्रतालुले विधिवत् रूपमा सूर्यलाई अघ्र्य दिने अनुमान गरिएको छ ।
व्रतालु तथा दर्शनार्थीको यही चापलाई मध्यनजर गर्दै समितिले पर्याप्त भौतिक पूर्वाधारको प्रबन्ध मिलाएको छ । सचिव यादवका अनुसार व्रतालुका लागि ३ सय डाला तयार गरिनुका साथै भजन र साङ्गीतिक कार्यक्रम आयोजना गर्न स्टेजको व्यवस्थापन गरिएको छ ।
‘यस पटक करिब तीन सय व्रतालुले अघ्र्य दिने हाम्रो अनुमान छ,’ उनले भने, ‘सोही अनुसार घाट क्षेत्रमा तीन सय वटा डाला तयार गरेका छौँ, जहाँ व्रतालु, अन्य श्रद्धालु भक्तजन तथा अवलोकनकर्ताले सहजै बसेर आराम गर्न र पूजा आराधना गर्न सक्नेछन् ।’
छठ पूजाका क्रममा व्रतालुहरू लामो समयसम्म निर्जल उपवास बस्ने भएकाले उनीहरूको स्वास्थ्य संवेदनशीलतालाई पनि विशेष ध्यान दिइएको छ । रातभर जाग्राम बस्नुपर्ने र चिसो मौसम सुरु भइसकेकाले हुनसक्ने सम्भावित स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै पूजा स्थलमै प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था समेत मिलाइएको सचिव यादव बत्ताउँछन् । आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्यकर्मी र आवश्यक औषधिको टोली घाट क्षेत्रमै परिचालन गरिएको पनि उनले बताए ।
अर्कोतर्फ, छठ पर्वका अवसरमा मोहना घाटमा करिब दुई लाख सङ्ख्यामा श्रद्धालु भक्तजन तथा मेला अवलोकनकर्ताहरूको भिड लाग्ने अनुमान गरिएको छ । सोही अनुसारको सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको उनको भनाई छ ।
मोहना घाट भारतको गौरीफन्टा नाकासँग जोडिएको सीमावर्ती क्षेत्र भएका कारण पनि यस क्षेत्रलाई सुरक्षाका दृष्टिले विशेष संवेदनशील र महत्त्वपूर्ण रूपमा हेर्ने गरिन्छ। खुला सिमानाका कारण हुनसक्ने अवाञ्छित गतिविधि, तथा भिडभाडमा हुनसक्ने अप्रिय घटना रोक्न सुरक्षा निकायले विशेष सुरक्षा रणनीति अपनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी० योगेन्द्र तिमिल्सिनाले छठ पूजालाई पूर्ण रूपमा मर्यादित, शान्तिपूर्ण र व्यवस्थित बनाउन मोहना क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको बताए । उनका अनुसार घाट तथा आसपासको सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिसकिएको छ । सादा पोसाकमा समेत प्रहरी खटाएर निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
प्रवक्ता तिमिल्सिनाले सम्पूर्ण श्रद्धालु भक्तजनलाई कुनै पनि डर वा त्रासबिना ढुक्क भएर पूजा आराधना गर्न आग्रह गरेका छन् । साथै, धार्मिक सद्भाव बिथोल्ने तथा पूजा स्थलमा उच्छृङ्खल गतिविधि गर्ने जोकोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत उनले दिएका छन् । ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सवारी साधन पार्किङका लागि समेत छुट्टै स्थान तोकिएको छ ।
सूर्य उपासनाको यस पर्वमा सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै छठी माताको पूजा गर्ने गरिन्छ । विशेष गरी तराई–मधेस क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय धनगढी लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा पहाडी र थारु समुदायले समेत मनाउन थालेका छन् ।
व्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि रातभर घाटमै जाग्राम बसी भजन कीर्तन तथा छठी माताका लोकगीतहरू गाउनेछन् । जसेका लागि नेपाल तथा भारतबाट भजन मण्डलीको टोली आउने सचिव यादवले बताए । छठको अन्तिम दिन भोली बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य (उषा अघ्र्य) अर्पण गरेपछि चार दिन लामो छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्