बहुजातीय र बहुसांस्कृतिक पहिचानको संरक्षणमा जोड : सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचानको संरक्षण गर्दै विविधताबीचको एकतालाई सुदृढ बनाउनु साझा दायित्व भएको बताएका छन् ।
छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जनताका आवाज र आवश्यकतालाई सम्बोधन गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्न सङ्घीय संसद् प्रतिबद्ध रहेको बताए ।
तराई–मधेश क्षेत्रमा मनाइने छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा आराधना गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले सूर्यदेव र छठी माताको विधिपूर्वक पूजा गर्नु यस पर्वको मौलिक विशेषता भएको बताए ।
सभामुख अर्यालले यस वर्ष भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पीडा र कठिनाइलाई समेत आत्मसात् गर्नुपर्ने बताए । उनीहरूको पुनःस्थापना र जनजीवन सामान्य बनाउन राज्यका सबै निकाय तथा समुदायबीच सहयोग, सहकार्य र एकता आवश्यक रहेको उनले बताए ।
सूर्य, पृथ्वी र जलप्रतिको श्रद्धा तथा भक्तिले मौलिक संस्कृति, परम्परा र रीतिरिवाजलाई जीवन्तता प्रदान गर्ने उनले बताए । पारिवारिक सुख, समृद्धि र मनोकामना पूरा हुने विश्वासका साथ मनाइने यस पर्वले समाजमा विद्यमान विभेद र असमानता अन्त्य गर्दै राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरे ।
छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्