नेपालमा महिला हिंसा : डिजिटल हिंसा नयाँ चुनौती
पार्वती भण्डारी, नेपाल न्यूज बैंक
काठमाडौं । नेपालमा महिला हिंसाका घटना न्यूनीकरण हुनुको साटो पछिल्लो समय स्वरूप परिवर्तन भएर यस्तो हिंसामा वृद्धि हुँदै गएको जानकारहरूले बताएका छन् । उनीहरूका अनुसार प्रविधिको विकाससँगै डिजिटल माध्यमबाट हुने महिला हिंसाका घटनामा बेली हुँदै गएका छन् । उनीहरूको धारणा छ, डिजिटल हिंसा नयाँ चुनौतीका रूपमा देखा परेको छ ।
परम्परागत घरेलु हिंसासँगै सामाजिक सञ्जालमार्फत हुने साइबर, चरित्र हत्या र राजनीतिक हिंसा बढ्दै गएको हो ।
घरेलु हिंसा सबैभन्दा बढी देखिए पनि डिजिटल हिंसा नयाँ चुनौतीका रूपमा देखा परेको अधिकारकर्मीहरुको भनाइ छ । फोटो तथा भिडियोको दुरुपयोग, ब्ल्याकमेलिङ, आर्थिक ठगी र सामाजिक सञ्जालमा हुने दुव्र्यवहार बढिरहेको छ । पहिले हिंसा सहन बाध्य महिलाहरू अहिले कानुनी सचेतना र सामाजिक जागरणका कारण उजुरी गर्न अघि सर्ने गरेका छन् ।
विभिन्न क्षेत्रका महिला अधिकारकर्मी तथा नेतृहरूले हिंसाका घटना बढेको भन्दा पनि हिंसाविरुद्ध आवाज उठाउने र उजुरी गर्ने महिलाको संख्या बढेको बताउँछन् ।
हिंसाको स्वरूप परिवर्तन भइरहेकाले डिजिटल माध्यमको नियमन आवश्यक रहेको र विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरु बताउँछन् । महिला हिंसा अन्त्यका लागि शून्य सहनशीलताको नीति अपनाउनुपर्ने र अनुसन्धान तथा न्यायिक प्रक्रियालाई प्राथमिकता दिनुपर्ने उनीहरु बताउँछन् ।
समग्रमा उनीहरूले महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, निष्पक्ष अनुसन्धान, सामाजिक सोचमा परिवर्तन र राज्यसहित सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।
यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा राष्ट्रिय सभा सदस्य तथा संसदीय दलकी नेता कमला पन्तले नेपालमा महिला हिंसा अन्त्य हुन नसकेको र पछिल्लो समय हिंसाको प्रकृतिसमेत परिवर्तन हुँदै गएको बताइन् । उनले परम्परागत रूपमा परिवारभित्र हुने हिंसासँगै अहिले सामाजिक सञ्जालमार्फत हुने साइबर हिंसा, चरित्र हत्या र राजनीतिक हिंसासमेत बढ्दै गएको बताइन् ।
पन्तले विगतमा दाइजो, पारिवारिक दुव्र्यवहार तथा बुहारीमाथि हुने हिंसा बढी देखिने गरेको उल्लेख गर्दै अहिले सामाजिक सञ्जालबाट हुने गालीगलौज, चरित्र हत्या र साइबर अपराध नयाँ चुनौतीका रूपमा देखिएको बताइन् ।
उनले भनिन्, ‘महिला हिंसा घटेको छैन, हिंसाको प्रकृति मात्रै फरक भएको छ । सामाजिक सञ्जालबाट हुने हिंसा, साइबर अपराधलगायत विभिन्न प्रकृतिका हिंसा बढिरहेका छन्। राजनीतिक हिंसा पनि बढिरहेको छ ।’
पन्तका अनुसार सामाजिक सञ्जालमा महिलाको फोटो जोडेर गलत प्रचार गर्ने, आधारहीन आरोप लगाउने र चरित्र हत्या गर्ने प्रवृत्तिले महिलाको व्यक्तिगत तथा सामाजिक जीवनमा गम्भीर असर पारिरहेको छ ।
उनले महिला हिंसा अन्त्यका लागि कानुन निर्माण मात्रै पर्याप्त नहुने भन्दै प्रभावकारी कार्यान्वयन र निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताइन् । हिंसाविरुद्ध उजुरी गर्ने महिलाको गुनासोलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको जोड छ ।
त्यस्तै, आर्थिक रूपमा कमजोर परिवार, दलित समुदाय तथा पछाडि पारिएका वर्गका महिलामाथि हुने हिंसालाई पनि समान रूपमा सम्बोधन गर्नुपर्ने उनले बताइन् । पन्तले प्रहरी प्रशासनले पीडितको आर्थिक अवस्था र पहुँचका आधारमा विभेद नगरी निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताइन् ।
उनले महिला हिंसा अन्त्यका लागि सरकार, प्रहरी प्रशासन, राजनीतिक दल, सामाजिक संस्था र नागरिक सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै भएकै कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको औंल्याइन् ।
यसैगरी, पत्रकार तथा महिला अधिकारकर्मी बबिता बस्नेतले नेपालमा महिला हिंसाका घटना नरोकिएको र पछिल्लो समय हिंसाको स्वरूप परिवर्तन हुँदै डिजिटल हिंसाले ठूलो स्थान लिन थालेको बताइन् ।
उनका अनुसार नेपाल प्रहरीमा दर्ता भएका घटनामध्ये घरेलु हिंसाको संख्या सबैभन्दा बढी देखिए पनि आगामी दिनमा डिजिटल हिंसा थप चुनौतीपूर्ण बन्ने देखिएको छ । अहिले घरेलु हिंसासमेत डिजिटल माध्यमसँग जोडिन थालेको उनको भनाइ छ ।
बस्नेतले डिजिटल हिंसाअन्तर्गत आर्थिक ठगी, सम्बन्धमा समस्या आएपछि फोटो तथा भिडियोको दुरुपयोग, ब्ल्याकमेलिङ र धम्की दिने घटनाहरू बढिरहेको बताइन् । सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग सम्पर्क बढ्ने र त्यसको दुरुपयोग हुँदै यौन हिंसासम्म पुग्ने जोखिम रहेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘हिंसा रोकिएको छैन, हिंसाको रूप मात्रै बदलिरहेको छ । अहिले डिजिटल हिंसाले ठूलो ठाउँ लिइरहेको छ । सामाजिक सञ्जालमार्फत जोडिने, ब्ल्याकमेलिङ गर्ने, फोटो तथा भिडियोको दुरुपयोग गर्ने घटनाहरू बढिरहेका छन्।’
बस्नेतले सामाजिक सञ्जालमा मौखिक तथा लिखित दुव्र्यवहार, गालीगलौज र घृणास्पद अभिव्यक्ति प्रयोग गर्ने प्रवृत्तिसमेत बढेको बताइन् । महिला हिंसा न्यूनीकरणका लागि जनचेतना बढे पनि बलात्कारलगायतका घटना नरोकिएको उनको भनाइ छ ।
उनले महिला हिंसासम्बन्धी घटनामा कति वृद्धि वा कमी आएको छ भन्नेबारे पर्याप्त अनुसन्धान नभएकाले तथ्याङ्कका आधारमा निष्कर्ष निकाल्न नसकिने बताइन् ।
कानुनी व्यवस्थाबारे बोल्दै बस्नेतले नेपालमा घरेलु हिंसा, बलात्कार र वैवाहिक बलात्कारविरुद्ध पर्याप्त कानुन रहेको उल्लेख गरिन् । तर, डिजिटल हिंसा नियन्त्रण तथा सामाजिक सञ्जाल नियमनका लागि थप कानुनी व्यवस्था आवश्यक रहेको उनको धारणा छ ।
बस्नेतले महिला हिंसा नियन्त्रणका लागि कानुनभन्दा पनि त्यसको प्रभावकारी कार्यान्वयन महत्वपूर्ण रहेको बताइन् । अनुसन्धानमा हुने कमजोरी र कानुन कार्यान्वयनमा देखिने फितलोपनका कारण पीडितले न्याय पाउन कठिन भइरहेको उनको भनाइ छ ।
उनले महिला हिंसा न्यूनीकरणका लागि विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन, निष्पक्ष अनुसन्धान र डिजिटल माध्यमको उचित नियमनमा जोड दिइन् ।
यसैगरी, एमाले नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले नेपालमा महिला हिंसाका घटना बढेको भन्दा पनि हिंसाविरुद्ध आवाज उठाउने र उजुरी गर्ने महिलाको संख्या बढेको बताइन् ।
झाँक्रीले विगतको तुलनामा महिला हिंसाविरुद्ध कानुनी सचेतना, सामाजिक जागरण र उजुरी गर्ने प्रवृत्र् िबढेको बताएकी हुन् । उनले महिला हिंसाका तथ्याङ्क बढ्दैमा हिंसा नै बढेको निष्कर्ष निकाल्न नहुने धारणा राखिन् ।
उनले भनिन्, ‘महिला हिंसा बढेको होइन, उजुरी गर्नेको संख्या बढेको हो । पहिले महिला हुनु र हिंसा सहनु अनिवार्य सर्तजस्तै थियो । अहिले महिलाहरू हिंसाविरुद्ध बोल्न र उजुरी गर्न सक्ने अवस्थामा पुगेका छन् ।’
झाँक्रीले महिला हिंसा न्यूनीकरण मात्र नभई पूर्ण रूपमा अन्त्य गर्न शून्य सहनशीलताको नीति अपनाउनुपर्नेमा जोड दिइन् । उनले सामाजिक सञ्जालबाट हुने चरित्र हत्या, गालीगलौज, सार्वजनिक अपमान, मानसिक यातना तथा राजनीतिक क्षेत्रमा हुने विभेदलाई पनि महिला हिंसाकै रूपमा लिनुपर्ने बताइन् ।
उनका अनुसार महिला हिंसा अन्त्यका लागि कानुन निर्माण र राज्यको प्रयाससँगै व्यक्ति तथा समाजको सोचमा परिवर्तन आवश्यक छ । कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा र हिंसा गर्ने व्यक्तिलाई सामाजिक संरक्षण मिल्दा समस्या कायम रहेको उनको भनाइ छ ।
झाँक्रीले महिला हिंसासम्बन्धी घटनामा भीडको दबाबभन्दा प्रहरी अनुसन्धान, सरकारी वकिलको अभियोजन र अदालतको न्यायिक प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताइन् । ‘अनुसन्धान र तहकिकातका आधारमा न्याय हुनुपर्छ । भीडको निर्णयलाई राज्यले स्वीकार गर्न थाल्यो भने कानुनको शासन कमजोर हुन्छ,’ उनले भनिन् ।
उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक सञ्जालबाट अरूको चरित्र हत्या र अपमान गर्न नपाइने उल्लेख गर्दै नियमन आवश्यक रहेको बताइन् । महिला हिंसा अन्त्यका लागि राजनीतिक दल, सरकार र प्रहरी प्रशासनसँगै प्रत्येक व्यक्तिले आफ्नो व्यवहार र सोच परिवर्तन गर्नुपर्नेमा जोड दिइन् ।
यस्तै, महिला अभियन्ता डा।बबिता पौडेलले नेपालमा महिला हिंसाको स्वरूप परिवर्तन हुँदै गएको र पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने डिजिटल हिंसा महिलाका लागि नयाँ चुनौती बनेको बताइन् । उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा छोरी जन्माएको, दाइजो कम ल्याएकोलगायतका कारण महिलामाथि हिंसा हुने गरेको उल्लेख गर्दै सहरमा भने डिजिटल माध्यमबाट हुने हिंसा बढ्दै गएको बताइन् ।
पौडेलका अनुसार सामाजिक सञ्जालमा महिलाको शारीरिक बनावट, बोली, लवज तथा आत्मविश्वासमाथि टिप्पणी गर्ने, ट्रोल गर्ने र चरित्रमाथि प्रश्न उठाउने प्रवृत्र् िबढिरहेको छ । यस्ता गतिविधिले महिलालाई मानसिक तनावमा पार्नुका साथै डिप्रेसनसम्म पु¥याउने अवस्था सिर्जना गरेको उनको भनाइ छ ।
उनले भनिन्, ‘महिलाले सानो गल्ती गर्दा पनि सामाजिक सञ्जालमा ठूलो विषय बनाउने र ट्रोल गर्ने प्रवृत्र् िबढ्दो छ । महिलाको बोली, शरीर र लवजलाई लिएर गरिने टिप्पणी पनि हिंसा नै हो ।’
पौडेलले सामाजिक सञ्जालमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न राज्यको प्रभावकारी नियमन र कानुनी व्यवस्था आवश्यक रहेको बताइन् । महिला हिंसा न्यूनीकरणका लागि कडा कानुन निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनको जोड छ । साथै विद्यालय तहदेखि नै महिला अधिकार, समानता र हिंसाविरुद्ध जनचेतना फैलाउनुपर्ने उनले बताइन् ।
उनले विद्यालय, कलेज तथा विश्वविद्यालयको पाठ्यक्रममा महिला हिंसाविरुद्धका विषयलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै टेलिभिजन, पत्रपत्रिका र नाटकमार्फत समेत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् । पौडेलका अनुसार कानुनको प्रभावकारी कार्यान्वयन र जनचेतना अभिवृद्धि सँगसँगै अघि बढाउन सके मात्रै महिला हिंसा न्यूनीकरण गर्न सकिन्छ ।
नोभेम्बर २५ तारिखलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको छ । यो दिवसलाई एक दिनमा सीमित नगरी प्रत्येक वर्ष १६ दिने अभियानका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । ‘१६ दिने अभियान’का रूपमा परिचित यस दिवसको अवसरमा विश्वभर महिलामाथि हुने हिंसा अन्त्यका लागि जनचेतनामूलक तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्