काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष तथा शिक्षा र स्वास्थ्य क्षेत्रका उद्यमी उमेश श्रेष्ठले शिक्षा र स्वास्थ्यलाई राज्यले पहिलो प्राथमिकतामा राख्न सके मात्रै मुलुकको समग्र विकास सम्भव हुने बताएका छन् ।
शुक्रबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले नेपालको शिक्षा क्षेत्रको विकासका लागि स्पष्ट नीति, ऐन तथा कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘ शिक्षा र स्वास्थ्यलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्छ । जबसम्म मुलुकले शिक्षालाई नम्बर वान प्राथमिकता दिँदैन, तबसम्म देशको समग्र विकास सम्भव हुँदैन । नेपालको शिक्षा क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन स्पष्ट नीति, ऐन तथा कानुन निर्माण गरी समयानुकूल परिमार्जन गर्न आवश्यक छ ।’
हिसान र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को स्थापनामा आफ्नो महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै उनले आफू प्याब्सनको संस्थापक तथा संस्थापक मस्यौदाकारमध्ये एक रहेको बताए । त्यस्तै, प्लस टु शिक्षाको विस्तारसँगै संस्थागत सहकार्य आवश्यक महसुस गरेर हिसान स्थापना गरिएको उनको भनाइ थियो ।
उनले नेपालमा हाल २० वटा विश्वविद्यालय, एक हजार दुई सय ५० भन्दा बढी प्लस टु सञ्चालन गर्ने शैक्षिक संस्था, हजारौँ निजी विद्यालय तथा २९ देखि ३० हजार सरकारी विद्यालय रहेको उल्लेख गर्दै यी सबै संस्थालाई समेट्ने गरी एकीकृत र प्रभावकारी शैक्षिक नीति आवश्यक रहेको बताए ।
‘शिक्षालाई नम्बर वान प्राथमिकता नदिएसम्म देश बन्दैन,’ उनले भने, ’परिवर्तित परिस्थितिअनुसार शिक्षा क्षेत्रका नीति, ऐन, नियम र कानुन परिमार्जन गर्न जरुरी छ ।’
श्रेष्ठले नेपालमा उच्च शिक्षाका पर्याप्त सम्भावना हुँदाहुँदै पनि विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेशिने क्रम बढ्नु चिन्ताजनक रहेको बताए । नेपाललाई शिक्षा र स्वास्थ्यको अन्तर्राष्ट्रिय हब बनाउन सकिने सम्भावना रहे पनि राज्यले त्यसअनुसार प्राथमिकता दिन नसकेको उनको भनाइ थियो ।
श्रेष्ठले शिक्षा क्षेत्रमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढाउनुपर्ने आवश्यकता पनि औँल्याए । बदलिँदो प्रविधिअनुसार पाठ्यक्रम परिमार्जन गर्दै नयाँ पुस्तालाई आवश्यक पर्ने सीप र ज्ञान प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।
कृषि क्षेत्रमा आफूले गरिरहेको लगानीको प्रसंग उल्लेख गर्दै उनले नेपालमा कृषि व्यवसायीकरणको ठूलो सम्भावना रहेको बताए । इजरायल र भारतबाट बिरुवा ल्याएर व्यावसायिक कृषि विस्तार गर्ने प्रयास भइरहेको उल्लेख गर्दै मेचीदेखि महाकालीसम्म कृषिलाई व्यावसायिक बनाउनुपर्ने धारणा राखे ।
‘नेपालमा सम्भावना धेरै छ। लगानी गर्नुस्, निरुत्साहित नहुनुस्। देशलाई सही दिशामा अघि बढाउन सके १० वर्षमै कायापलट गर्न सकिन्छ,’ उनले भने ।
आफूले विभिन्न क्षेत्रमा लगानी गरेर करिब पाँचदेखि छ हजार व्यक्तिलाई रोजगारी दिएको उल्लेख गर्दै श्रेष्ठले आगामी दिनमा पनि लगानी र रोजगारी सिर्जनालाई निरन्तरता दिने बताए ।


प्रतिक्रिया दिनुहोस्