Skip to content
nabil bank inside

रत्यौली संरक्षणमा आमा समूहको सक्रियता

nmb bank inside
काठमाडौँ । ‘हे…खुसी हुँदै जाउ है बाबु दुलही लिएर आए 
बाबा आमा दिदीबहिनी कहिल्यै नरुवाए
आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो ।
हे…बिहे गरे छोरा विदेश सहरमा बुहारी 
घरमा भने बाउ आमा र बाँझो खेतबारी 
आफ्नै देश केही गरी खानु वृद्धाश्रम बा-आमा नलानु
आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो ।
बागलुङ नगरपालिका-८ सिगाना सायकोटको सृजनशील आमा समूहले तयार पारेको रत्यौली गीतको टुक्का हो यो । विवाह संस्कारमा गाइने गीतमध्यको रत्यौली अहिले लोप हुने अवस्थामा आएपछि आमा समूह मिलेर संरक्षणमा जुटेका हुन् ।
वैवाहिक सम्बन्धको विषय वरपर रहेर गाइने गीतलाई रातमा रमाइलो गरेर गाइने भएकाले यसलाई रत्यौली नामकरण गरिएको आमा समूहका अध्यक्ष डिलकुमारी कार्कीले बताएका छन् । लोकगीतका विभिन्न भेदमध्यको संस्कार गीतमा पर्ने रत्यौली बिस्तारै लोप हुने खतरामा बढ्दै गएपछि त्यहाँका ‘रत्यौली समूह’ निर्माण गरेर मेला तथा पर्वमा रत्यौली गाउन र नाच्न थालिएको उनको भनाइ छ । मौलिक गीतका रुपमा रहेको रत्यौली पछिल्लो समय आधुनिकतासँगै लोप हुन थालेकाले आमा समूह बनाएर संरक्षणमा जुटेको आमाहरु बताउँछन् ।
त्यस्तै, वैवाहिक तथा परिवारको सम्बन्धको, विगत र भविष्यको सेरोफेरोमा घुमेका यस्तै गम्भीर र थुप्रै ठट्यौली अनि रमाइला खालका गीत गाउँदै रत्यौली संरक्षणमा जुटेको समूहका अध्यक्ष कार्कीले जानकारी दिएका छन् । पछिल्लो समय पार्टी प्यालेसबाट तथा भागी विवाह गर्ने चलन बढेकाले रत्यौली परम्परा पुस्तान्तरण हुन नसक्दा लोप हुनथालेपछि विवाह समारोहसँगै मेला पर्वमा रत्यौली प्रदर्शन गर्न थालिएको उनको भनाइ छ । ‘रत्यौलीका लागि लाहुरे, लुठो, मादले, खैजाडु, श्रीमान्श्रीमतीको जोडीसहितको समूह तयार पारेका छौँ । सचेतनामूलक सन्देश दिनेगरी सामाजिक र सांस्कृतिक कार्यक्रममा रत्यौली प्रदर्शन गर्दै आएका छौँ’, कार्कीले भने, ‘विद्यालयको वार्षिकोत्सव, क्लबको मेलालगायत कार्यक्रममा यस्ता गीत गाउँदा मनोरञ्जनका साथै सन्देश पनि दिन सकिन्छ र संस्कृति संरक्षण पनि हुन्छ भनेर अभियान नै थालेका छौँ ।’
समूहका अध्यक्ष कार्कीका अनुसार बालमैत्री अभियान, दाइजो प्रथा, बालविवाहविरुद्ध, महिला शिक्षालगायत विषयमा रत्यौली गीतका शब्द सङ्कलन गरेर गाइँदै आइएको छ । रत्यौलीका लागि आवश्यक सामग्री मादल, खैजाडी, नवविवाहितको जोडी, पण्डितको भेषसम्मका कपडा समूहले व्यवस्था गरेको उनले भनाइ छ । ‘उहिल्यै-उहिल्यै रतौली गीतमार्फत आमा, दिदीबहिनीहरू दुलाहा-दुलही र घरपरिवारलाई आशिष् दिन्थे । पारिवारिक अवस्थाको चित्रण गर्दै बह पोख्थे अनि खुलेरै रमाइलो गर्थे । पहिला प्राय:विवाह राति हुने भएकाले यसलाई रत्यौली भनिएको हो । अहिले विवाह दिनमा हुन थाल्यो र यो परम्परा पनि लोप हुँदै गयो’, समूहका सदस्य गङ्गा खड्काले भने ।
यस्तै, समूहबाट सन्देशमूलक गीतका शब्द सङ्कलन गरेर मेला, पर्व, विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा रत्यौली गाउन थालेको भन्दै यसले यो परम्परा संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको उनले जनाएका छन् । समूहमार्फत रत्यौलीको परम्परालाई संस्थागत गर्न लागिएको उनको भनाइ छ ।
हे…सुन्नुहोला माइतीले हाम्लाई लोभ छैन, 
असल संस्कार छोरी दिनुहोस् दाइजो पर्दैन,
आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…
हे…कर्म गरौँ आफ्नै भर परौँ
दाइजो पर्था हटाउने काम गरौँ,
आमाको पियारो छोरो…
मनोरञ्जन-रमाइलो हुने भएकाले यसको नाम रत्यौली भएको भन्दै समूहका सदस्य खड्काले अब रमाइलोसँगै सन्देशमूलक रत्यौली गाउँदै संरक्षणमा जुटेको बताएका छन् । बिहे घरमा अचेल पहिलाजस्तो रमाइलो रत्यौली हुन छोडेपछि आमा समूह यसको संरक्षणमा जुटेको सदस्य खड्काको भनाइ छ । त्यस्तै, उहिल्यै रत्यौलीमा सुनिने रमाइला, ठट्यौली र मानवीय जीवनका दैनिकी समेटिएका यथार्थपरक गीतहरु आजकल सुनिन छोडेका छन् । ‘छोराको बिहेमा दुलाहा अन्माएर लगेपछि बिहेघरको आँगनमा भेला भएर महिलाले मादल र झय्ली बजाउँदै मुजुराको तालमा गीत गाउँदै नाच्थे । पछिल्लो समय यो परम्परा तडकभडकमा मात्रै सीमित हुन थालेपछि चिन्तित भएर यसको संरक्षणमा लागेका हौँ’, समूहका गङ्गा गौतमले भने । विगतमा जस्तो मौलिक स्वाद र शैलीका रत्यौली अहिले नरहे पनि परम्परालाई जीवित राख्न विवाहबाहेक अन्य सभासमारोहमा सन्देशमूलक रत्यौली देखाउन थालिएको उनले जनाएका छन् ।
‘विवाहमा पहिला दिनरात रत्यौली हुन्थ्यो अहिले खासै गाउँदैनन्’, गौतमले भने, ‘सभा तथा समारोहमा विवाहको मण्डपसहित दुलाहादुलहीसहितको समूह बनाएर रत्यौलीको छोटो प्रस्तुति दिन थालेका छौँ ।’ पहिला रात ढल्दै क्षितिजमा प्रभातकालीन रश्मी देखिन थालेपछि विभिन्न देवीदेवता पुकार्दै दुलाहाका आमाबाबु, परिवारजन र आफन्तलाई आशिष् दिने र दान सङ्कलन गर्ने परम्परा रहेकामा अहिले त्यो हराउँदै गएकामा उनले चिन्ता व्यक्त गरेका छन् ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्