काठमाडौँ । यतिबेला भेडापालक किसान ढोरपाटनको बुकी उक्लने तरखरमा छन् । बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र प्युठानका भेडा चरिचरनका लागि बुकीतर्फ हिँडिरहेका छन् । यसपटक सात सय भेडा लिएर बुकीतर्फ हिँडिरहेकोमा रोल्पा जिल्लाको थवाङ गाउँपालिका-४ तेलखोलाका सन्तोष घर्ती भेडा चराउँदै बागलुङ आएका छन् ।
भेडापालनमा धेरै दु:ख भएको जनाउँदै भेडा पाल्न छाड्ने क्रम बढिरहेको सन्दर्भमा घर्तीले यसबाट भएको आम्दानीले परिवार पाल्दै राम्रो शिक्षा दिन सफल भएको बताएका छन् । उनले भेडापालनमा आफू सन्तुष्ट भएको भन्दै वार्षिक रु ४० लाख आम्दानी गर्न सफल भएको जानकारी दिएका छन् । बागलुङको निसीखोला गाउँपालिकाको रिग चरन क्षेत्रमा भेडा चराइरहनुभएका घर्तीले वार्षिक रु ४० लाख आम्दानीले आफ्नो परिवारलाई दाङको तुलसीपुर पढाउँदै आएको बताएका छन् ।
‘परम्परा धान्नमात्रै भेडापालेर भएन, भेडा लिएर बुकी जान थालेको १८ वर्ष भयो, सानै उमेरबाट भेडापालनमा लागेँ, छोराछोरीलाई मलाई जस्तो दु:ख नहोस् भनेर भेडापालनलाई व्यावसायिक बनाउन थालेको छु, दुई सय भेडाले घरखर्च चल्दैन, त्यसैले सात सय पाल्न थालेको हुँ’, घर्तीले भने, ‘भेडापालनमा दुःख छ भन्दैमा छाड्न कहाँ सकिन्छ र पुर्खाको पेसा, तीन छोरी र दुई छोरलाई दाङ लगेर पढाएको छु, उनीहरूको खर्च धान्न भेडा पाल्नैपर्छ ।’
त्यस्तै, भदौको अन्तिममा फर्कने तयारीसहित बन्दोबस्तीका सामग्री बोकेर जेठको दोस्रो हप्ता घरबाट बुकीतर्फ हिँडेको बताउँदै घर्तीले घरमा भन्दा जङ्गलमा बढी बसाइ हुने बताएका छन् । ‘आफ्नो त घरमा भन्दा बढी जङ्गलको बास हुन्छ, आम्दानी राम्रो भए पनि भेडापालन निकै जोखिमको पेसा हो, राम्रो पढाइ गर्न सकिएन, ४५ वर्षको पुगियो आफ्नो त जिन्दगी भेडा पालेरै बित्नेभयो’, उनले भने ।
भेडापालनबाट खान, लाउन र शिक्षादीक्षा दिएर वर्षमा रु आठ-दश लाख बचतसमेत हुने गरेको उनी बताउँछन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्