सुर्खेत । केन्द्रमा भएको नेकपा र नेकपा एमालेबीचको सहमति अनुसार कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन् ।
प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलको समर्थनमा नेकपाका संसदीय दलका नेता शाहीले कर्णाली प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुखले दिएको मंगलबार साँझ ५ बजेको समयसीमा अघि एमालेका प्रमुख सचेतक टेकराज पछाईलाई लिएर नेकपाका शाहीले दावी पेस गरेका थिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका १४ र नेकपा एमालेका १० जना सांसद छन् ।
गत असार ३२ गते नेकपा र नेपाली काँग्रेसका १६ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि साउन ९ गते मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामै राजीनामा घोषणा गरेका थिए । नेपाली काँग्रेस र नेकपाको प्रदेश सरकार गठनको प्रयास भए पनि एमाले र नेकपाबीच केन्द्रमा गठबन्धन भएपछि प्रदेशमा गठबन्धन प्रयास विफल भएको छ ।
नेपालको संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त भएपछि शाहीले सरकार गठनको दाबी प्रस्तुत गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्