सुर्खेत । नेकपा एमालेकाे समर्थनमा नेकपाका मंगलबहादुर शाही कर्णाली प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मंगलबार कर्णालीको पाँचौं मुख्यमन्त्रीको रूपमा नियुक्त गरेका हुन् ।
नेकपा र एमाले विचकाे सहमति अनुसार कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मंगलबार दावी पेश गरेका थिए । दुई दलकाे समर्थनमा संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री शाहीको पद तथा गोपनियताको शपथग्रहण बुधबार हुने प्रदेश प्रमुखको कार्यालयकी सूचना अधिकारी मनमाया काउचाले जानकारी दिइन् । प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलकाे समर्थनमा नेकपाका संसदीय दलका नेता शाहीले कर्णाली प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुखले दिएकाे मंगलबार साँझ ५ बजेकाे समयसीमा अघि एमालेका प्रमुद सचेतक टेकराज पछाईलाई लिएर नेकपाका शाहिले दावी पेश गरेका थिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका १४ र नेकपा एमालेका १० जना सांसद छन् ।
गत असार ३२ गते नेकपा र नेपाली काँग्रेसका १६ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गरे पछि साउन ९ गते मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामै राजिनामा घाेषणा गरेका थिए । कँडेलकाे राजिनामासंगै बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि प्रदेश प्रमुख जाेशीले आह्वान गरेका थिए ।
नेपाली काँग्रेस र नेकपाकाे प्रदेश सरकार गठनकाे प्रयास भए पनि एमाले र नेकपाबीच केन्द्रमा गठबन्धन भएपछि प्रदेशमा गठबन्धन प्रयास विफल भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्