काठमाडौं । प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मि पन्त पक्राउ परेकी छिन् । बैंकिङ कसुर मुद्दामा फरार रहेकी पन्तलाई बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको तीनकुनेबाट नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार पन्तलाई अनुसन्धानका लागि नियन्त्रणमा लिई म्याद थपको प्रक्रिया अघि बढाइएको छ। पन्तमाथि बैंकबाट प्रवाह भएको करिब ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको अभियोग लगाइएको छ। उक्त कर्जा एसियन नभिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्माले लिएका थिए।
नेपाल राष्ट्र बैंक को सुपरिवेक्षण विभागले गरेको स्थलगत निरीक्षणपछि तयार प्रतिवेदनमा उक्त कर्जा रिसोर्ट निर्माण र जग्गा खरिदका लागि लिइए पनि अन्य ऋण तिर्न प्रयोग गरिएको उल्लेख छ।
त्यसैगरी, कर्जा प्रवाह गर्दा बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने कबुलियतनामा तयार गरी ऋण उपलब्ध गराइएको तथ्य पनि खुलेको छ।
यसअघि कर्जा दुरुपयोगमा संलग्न रहेका शशिधर शर्मालाई सीआईबीले गत असार ३० गते नै पक्राउ गरिसकेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्