काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको ‘क्यूआर कोड’का कारण स्नातक प्रथम वर्षका हजारौँ विद्यार्थीको व्यक्तिगत विवरण सार्वजनिक भएको भन्दै विवाद सिर्जना भएको छ । क्याम्पसको आधिकारिक पेज र समूहमा बीए, बीबीएस र बीएससी प्रथम वर्षको प्रवेशपत्रसम्बन्धी सूचना भन्दै क्यूआर कोड पोस्ट गरिएको थियो । उक्त क्यूआर स्क्यान गर्दा विद्यार्थीका प्रवेशपत्रहरू प्रत्यक्ष रूपमा देखिने गरी राखिएको पाइएको छ ।
यस घटनापछि विद्यार्थीहरू आक्रोशित र त्रसित भएका छन् । कतिपय विद्यार्थीले आफ्नो नाम, फोटो र शैक्षिक विवरण सार्वजनिक हुनु गम्भीर गोपनीयता उल्लंघन भएको बताएका छन्। एक छात्राका अनुसार, आफूले अध्ययनबारे परिवार वा चिनजानमा समेत नबताएको अवस्थामा यस्तो विवरण सार्वजनिक हुँदा व्यक्तिगत रूपमा ठूलो असर परेको बताएकी छिन्।
उक्त क्यूआरमार्फत पहुँचयोग्य पीडीएफ फाइलहरूमा बीए तर्फ ५१७ जना, बीबीएस ७६१ जना, र बीएससी तर्फ ११६ जना गरी कुल १,३६४ जना विद्यार्थीका प्रवेशपत्र सार्वजनिक भएका छन्। प्रवेशपत्रमा विद्यार्थीको नाम, फोटो तथा अन्य शैक्षिक विवरण समावेश छन्, जसले डेटा सुरक्षामाथि प्रश्न उठाएको छ।
क्याम्पसले विद्यार्थीलाई उक्त प्रवेशपत्र प्रिन्ट गरी क्याम्पसमा आएर आधिकारिक स्ट्याम्प लगाउन निर्देशन दिएको छ। तर, विद्यार्थीहरूले अनलाइनमै डाटा सार्वजनिक गरेर फेरि क्याम्पसमै उपस्थित हुनुपर्ने व्यवस्था ‘जोखिमपूर्ण र अव्यवहारिक’ भएको बताएका छन्।
यस्तै, यसअघि पनि क्याम्पसले यस्तै अभ्यास गर्ने गरेको भए पनि यसपटकको डेटा सार्वजनिक गर्ने तरिका लापरवाहीपूर्ण भएको आरोप लागेको छ।


प्रतिक्रिया दिनुहोस्